
असार ३२, डोटी । बोगटान फुड्सिल गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । गाउँपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन गाउँपालिकाका लेखा प्रमुख मीन बहादुर चन्दले प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाका उपाध्यक्ष बिष्ना देवी बमले गरेकी थिइन् । स्वागतका क्रममा उनले आव २०८१/८२ मा अति अशक्तहरूलाई घरमै गएर अपाङ्गता परिचय पत्र उपलब्ध गराइएको बताइन् । नागरिकले सहज रूपले सेवा पाउन भनेर घरदैलोमा गएर परिचयपत्र वितरण गरिएको र पालिका कार्यालयमै आएर परिचय लिनेहरूलाई प्रावधान अनुसार परिचयपत्र वितरण भइरहेको बताइन् ।

गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बोगटान फुड्सिल गाउँपालिका अझै विकट गाउँपालिकाको रूपमा रहेको बताएका छन् । हाल सम्म पनि गाउँपालिकामा पक्की सडक नभएको तथा राष्ट्रिय प्रसारण लाइनको बिजुली पालिका भरि विस्तार नभइसकेकाले त्यसमा पालिकाले निरन्तर प्रयास गरिरहेको बताएका छन् । आगामी वर्ष गगुडामा करिब ८ किलोमिटर सडक कालोपत्रे हुने र थप सडक कालोपत्रेका लागि पहल गरिने उनले बताए । ठेकेदारले इमानदारीताका साथ काम गरेमा एक वर्षभित्र राष्ट्रिय लाइनको बिद्युत् विस्तार हुने अध्यक्ष गड्सिलाले बताए । उनले सार्वजनिक सुनुवाइमा आउने प्रश्न, सल्लाह र सुझावले आफूहरूलाई आगामी योजना बनाउन सहयोग पुग्ने बताएका बताएका छन् ।
सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण मुलुक कम्युनिकेसनले गरेको थियो ।
