
भदौ ६, डोटी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले कालापानी लिपुलेकको विषयलाई नेपालले अन्तर्राष्ट्रियकरण गर्न नसकेका कारण प्राप्त गर्न नसकिरहेको बताउनुभएको छ । डोटीको दिपायलमा शुक्रवार नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले यस्तो बनाउनुभएको हो ।

उहाँले भन्नुभयो, “कालापानी लिपुलेक हाम्रो हो, प्रभावकारी कूटनीतिक पहल गर्न नसकेका कारण, यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नसकेका कारणले हामीले यो भूमिलाई प्राप्त गर्न सकिरहेका छैनौँ । सबै प्रमाणका आधारमा यो भूगोल हामीले प्राप्त गर्नुपर्छ ।” मन्त्री पौडेलले छिमेकी राष्ट्रहरू भारत र चिनले आफ्नो स्वार्थको लागि नेपाली भूमि खोस्न तयार भएको आरोप लगाउनु भएको छ । चिनले नेपालको पक्षमा बोल्नु पर्नेमा आफ्नो स्वार्थमा भारतसँग सम्झौता गरेको मन्त्री पौडेलको आरोप छ ।
उहाँले नेपालले आफ्नो जमिन आफै फिर्ता ल्याउन सक्नुपर्ने बताउनु भयो । मन्त्री पौडेलले भन्नुभयो, “हामीले हाम्रो जमिन आफै फिर्ता ल्याउन सक्नुपर्छ तर युद्ध गरेर होइन प्रभावकारी कूटनीति अपनाएर जमिन फिर्ता ल्याउन सक्नुपर्छ । प्रभावकारी कूटनीति भनेको भारतसँग कूटनीतिक पहल बनाउनु प¥यो, अन्तर्राष्ट्रिय जगतमा पनि हामीले यो विषय लिएर जान सक्नु प¥यो ।” मन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा यो विषय उठ्ने विश्वास व्यक्त गर्नु भयो । यो विषयमा सबै राजनीतिक दलहरू एक ढिक्का हुनुपर्ने उहाँको भनाई छ ।
