
भदौ १८, डोटी । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवराचौताराको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वर्षभरि भए गरेका कामहरू बारे जानकारी सहित जिज्ञासा तथा गुनासा सुनुवाइ गर्ने र पृष्ठपोषण लिने उद्देश्यले बुधवार कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा वडाले वर्षभरि गरेका काम र प्रगतिबारे वडा अध्यक्ष चन्द्रमान सुनारले प्रस्तुतीकरण राखेका थिए । प्रस्तुतीपश्चात कार्यक्रममा प्रश्नोत्तर कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा विभिन्न सरोकारवालाहरूले वडाले अघिल्लो सार्वजनिक सुनुवाइ कार्यक्रममा गरेका प्रतिबद्धताको कार्यान्वयन, योजना कार्यान्वयन, योजना छनोटको प्रक्रिया, सडक, विद्युत्, खानेपानी, लगायतका सवालमा प्रश्न उठाएका थिए । प्रश्न, जिज्ञासा तथा सुझावहरू बारे प्रमुख वक्ताका रूपमा वडा अध्यक्ष चन्द्रमान सुनार र अन्य केही सम्बन्धित प्रश्नहरूको जवाफ कार्यक्रममा उपस्थित गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिला, वडाका कर्मचारी लगायतले दिएका थिए ।
वडा अध्यक्ष चन्द्रमान सुनारलेे कार्यक्रममा आएर प्रश्न, जिज्ञासा, सुझाव राख्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रममा आएका सुझावहरूलाई आत्मसात् गर्ने बताएका छन् । उनले वडाको विकासका लागि सबै राजनीतिक दलहरूलाई साझा योजना बनाएर आउन अनुरोध पनि गरेका छन् । वडा अध्यक्ष सुनारले उपभोक्ता समितिले योजनाहरूमा रकम बचाएर काम गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताएका छन् । उनले उपभोक्ता समितिका अध्यक्षहरूले एक लाखको योजनामा पनि २०/३० हजार बचाउने मनसाय बोकेर काम गर्ने हुँदा काम गुणस्तरीय हुन नसकिरहेको बताएका हुन् ।
साथै कार्यक्रममा उपस्थित गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिलालाई सोधिएका प्रश्नमा जवाफ दिँदै अध्यक्ष गड्सिलाले सार्वजनिक महत्त्व विषयहरू हराउँदै गएकोमा चिन्तित बनेको बताएका छन् । अध्यक्ष गड्सिलाले क्षणिकको लागि मात्रै योजना माग्ने परिपाटी बढ्दै गएकोमा त्यस्ता कुराहरूलाई त्याग्दै शिक्षा, स्वास्थ्य, कृषि जस्ता विषयहरूमा ध्यान केन्द्रीकृत गर्नुपर्ने बताएका छन् । उनले पालिकाले टिमुर र अदुवा खेतीमा लाग्न किसानलाई आग्रह पनि गरेका छन् । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी किरण धामीले गरेका थिए ।
