

सुदूरपश्चिम प्रदेशमा संघ, प्रदेश र स्थानीय तह मातहतका आठ सय ७० स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशभित्र संघीय सरकार मातहतका दुई अस्पताल रहेका छन् । डडेल्धुरामा रहेको डडेल्धुरा अस्पताल र कैलालीको गेटा अस्पताल संघीय सरकारले सञ्चालन गरिरहेको छ । कैलालीको सेती प्रादेशिक अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल, अछामको बयलपाटा अस्पताल र कैलालीको टिकापुर अस्पताल सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा रहेका छन् । यस्तै डोटी, अछाम, बझाङ, अछाम, बाजुरा, बैतडी र दार्चुला सदरमुकाममा रहेका जिल्ला अस्पतालहरु पनि प्रदेश सरकारको मातहतमा रहेका छन् ।
सुदूरपश्चिम प्रदेशभित्र आठ वटा पालिकास्तरीय आधारभूत अस्पतालहरु रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत धर्मानन्द गिरीले जानकारी दिए । गिरीका अनुसार प्रदेशभित्र १४ वटा प्राथमिक स्वास्थ्य केन्द्रहरु रहेका छन् । ‘प्रदेशभित्र आधारभूत स्वास्थ्य सेवा केन्द्र एक सय ७९, सामुदायिक स्वास्थ्य ईकाई एक सय ५५ रहेका छन्’ निर्देशनालयका सूचना अधिकारी समेत रहेका गिरीले भने ‘सहरी स्वास्थ्य केन्द्र एक सय १० र स्वास्थ्य चौकी तीन सय ७६ रहेका छन् ।’
गिरीका अनुसार प्रदेशभित्र ६ हजार ४५ महिला स्वास्थ्य स्वयंसेविकाहरुले समुदायस्तरमा स्वास्थ्य परामर्श दिँदै आएका छन् । खोप क्लिनिक क्लिनिक एक हजार आठ सय ३१ र गाउँघर क्लिनिक एक हजार चार सय आठ रहेका छन् भने प्रदेशभरी २५ वटा नीजि अस्पतालहरु रहेका छन् ।
अन्य स्वास्थ्य ईकाईहरु १७ वटा रहेका छन् । प्रदेशका १२ वटा अस्पतालहरुमा लैङ्गिक हिंसा सम्वन्धी अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) रहेका गिरीले वताए ।
