
बझाङमा एक शिशुको जन्मेकै दिन बैंक खाता खोलिएको छ ।
जिल्लाको साईपाल गाउँपालिका-१, धलौनका श्याम बोहराकी श्रीमती सिता बुढाले शुक्रवार बिहान ११.४० वजे स्थानीय स्वास्थ्य संस्थामा छोरी जन्माइन् । वडा कार्यालय नजिकै भएका कारण शुक्रवारै श्यामले छोरीको जन्मदर्ता गराए । शुक्रवारै एभ्रेष्ट बैंक लिमिटेडको साईपाल शाखामा बैंक खाता समेत खोलिएको छ ।

“मैले पहिलेदेखिनै वच्चा जन्मेकै दिन जन्मदर्ता गराउने सोचेको थिएँ, सोही अनुसार बच्चा जन्मिने बित्तिकै नजिकै रहेको वडा कार्यालय गएँ” शिशुका बुवा श्याम भन्छन् “वडामा जन्मदर्ता भइहाल्यो ।” श्रीमान्-श्रीमतीबीच सल्लाह भए बमोजिम छोरीको नाम उन्नती राखेर जन्मदर्ता गरिएको श्याम बताउँछन् ।
जन्मदर्ता भइसकेपछि उनलाई बैंकमा खाता खोल्ने कुरा याद आयो । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खेल्नै पर्ने भएपछि उनले शुक्रवारै बैंक खाता समेत खोलिदिए । “एक पटक जन्मदर्ता गराउनै पर्ने हो, ढिलो भएपछि जरिवाना पनि लाग्ने भएका कारण समयमै गराएको हुँ” उनले भने “जन्मदर्ता भइसकेपछि खाता पनि खोलिहालौं भन्ने भयो र हिजै (शुक्रवारै) खाता खोलेँ ।” सोही दिन बैंक खाता खोल्नका लागि आफुलाई वडा सचिव र बैंकका कर्मचारीहरूले प्रेरित गरेको श्याम वताउँछन् ।
शिशु उन्नतिको जन्मेकै दिन बैंक खाता खोलिएको एभ्रेष्ट बैंक लिमिटेड, साईपाल शाखा अपरेसन इन्चार्ज हरिश अवस्थीले पुष्ठी गरे । उनले भने “यसरी जन्मेकै दिन शिशुको खाता खोलिएको मेरे जानकारीमा पहिले घटना हो ।”

