डडेल्धुरा अस्पतालमा दुई सिफ्टमा ओपिडी सेवा

Sayalb

डडेलधुरा अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा संघीय सरकारले सञ्चालन गरेको एक मात्र डडेल्धुरा अस्पतालमा बिरामीको चाप बढेसंगै दुई सिफ्टमा ओपिडी सेवा सञ्चालन गरिएको हो । अस्पतालबाट दिइने सेवालाई व्यवस्थित गर्नका लागि बिहान र बेलुकाको समयमा पनि ओपीडी सेवा सुचारु गरिएको अस्पतालले जानकारी दिएको छ ।
बिरामीको चाप बढेपछि लामो समयसम्म पालो कुर्न, टिकट काट्न र उपचार सेवा पाउन समस्या हुने गरेको गुनासो आएपछि दुई सिफ्टमा ओपिडी सुरु गरिएको हो । यसअघि दिउँसो २ बजेपछि ओपिडी सेवा बन्द हुने गरेको थियो । दुई सिफ्टमा ओपिडी सेवा सञ्चालनमा आएसँगै बिरामीलाई इमर्जेन्सी टिकट काट्नु पर्ने वाध्यता हटेको छ ।
अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सुधा देवकोटाले अब हरेक समयमा बिरामीको उपचार ओपिडीबाट सहज रूपमा हुने वताईन् । उनले भनिन्, ‘पहिलो सिफ्टमा दिउँसो १२ः३० बजेसम्म र दोस्रो सिफ्ट १ः३० बजेदेखि सञ्चालन भईरहेको छ ।’ चिकित्सकलाई एक घण्टा खाजाको समय दिई डेढ घण्टा र गर्मीयाममा दुई घण्टासम्म दोस्रो सिफ्टको ओपिडी सञ्चालन डा देवकोटाको भनाई छ ।
‘२ बजेपछि अस्पताल पुग्ने बिरामीहरूले टिकट नै नपाउने अवस्था थियो’ उनले भनिन् ‘ओपिडीमा बस्ने डाक्टर साप वा मेडिकल अधिकृतले म हेर्दिन भनेपछि टिकट नै नपाउने र अन्यत्र जानु पर्ने बाध्यता थियो ।’ यो बाध्यता हटाउन जुनसुकै समयमा पनि बिरामी उपचार गर्न आउँदा कार्यालय समयमा उपचार पाउनु पर्ने व्यवस्था मिलाउन दुई सिफ्टमा ओपिडी सेवा सञ्चालन उनले वताईन् ।
यसले ढिलो आएका बिरामीहरुलाई इमर्जेन्सीमा एक सय रुपैयाँको टिकट काट्नुपर्ने झन्झट पनि हटेको डा देवकोटाले बताइन् ।

Shaileshwori
Loading...