बोगटान फुड्सिल गाउँपालिकाद्वारा मन्त्री कुलमान घिसिङलाई चार बुँदे ज्ञापन पत्र

पुस २, डोटी । बोगटान फुड्सिल गाउँपालिकाले भौतिक पूर्वाधार, यातायात तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार धनगढीमा गाउँपालिकाको दिगो विकाससँग प्रत्यक्ष सरोकार राख्ने चार ओटा महत्त्वपूर्ण मागसहित गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले मन्त्री घिसिङलाई ज्ञापन पत्र बुझाएका हुन् ।

गाउँपालिकाको तर्फबाट बुझाइएको ज्ञापन पत्रमा विद्युत् विस्तार, सडक पूर्वाधार तथा जलविद्युत् आयोजनासँग सम्बन्धित दीर्घकालीन विकासका विषयहरू समेटिएका छन् । ज्ञापन पत्रमा ठेक्का भइसके पनि लामो समयदेखि ढिलाइमा परेको राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार कार्य तत्काल सम्पन्न गरी गाउँपालिकाका सबै वडामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा सुनिश्चित गर्न माग गरिएको छ ।

Sayalb

यसै गरी सहजपुर–बोगटान–दिपायल सडक खण्ड अन्तर्गत करिब ५० किलोमिटर अधुरो सडक शीघ्र निर्माण गर्न आग्रह गरिएको छ । सो सडक पूरा भएमा स्वास्थ्य सेवा, शिक्षा क्षेत्र तथा कृषि उपजको बजारीकरणमा उल्लेखनीय सहजता आउने गाउँपालिकाका अध्यक्ष गड्सिलाले बताएका छन् । साथै जलाशययुक्त एसआर६ (सेती नदी–६) जलविद्युत् आयोजनासम्म पहुँच मार्ग निर्माण गर्न पनि ज्ञापन पत्रमा जोड दिइएको छ । गाउँपालिकाको केन्द्रदेखि आयोजनास्थलसम्म करिब २० किलोमिटर पहुँच मार्ग निर्माण भएमा राष्ट्रिय गौरवको आयोजनाबाट स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने अवस्था सिर्जना हुने जनाइएको छ ।

सेती लोकमार्ग निर्माणमा भएको ढिलाइ अन्त्य गर्न सम्बन्धित ठेकेदार कम्पनीलाई कडा निर्देशन दिई निर्माण कार्य तीव्र पार्न सरकारको ध्यानाकर्षण गराइएको छ । उक्त मार्ग समयमै सम्पन्न भए क्षेत्रीय आवागमन, व्यापार, पर्यटन तथा सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरिएको छ ।

गाउँपालिकाले उठाएका यी मागहरूलाई सम्बोधन गर्न मन्त्री घिसिङले सकारात्मक चासो देखाएको र आवश्यक पहल गर्ने आश्वासन दिएको जनाइएको छ ।

Shaileshwori
Loading...