
माघ १६, डोटी । बोगटान फुड्सिल गाउँपालिका–४ सातफरीमा वडा स्तरीय अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ । जोराघाट माध्यमिक विद्यालयमा बिहीबारबाट सुरु भएको कार्यक्रम शुक्रवार सम्पन्न भएको हो ।
कार्यक्रममा अक्षर चिनारी (कक्षा १-३), हिसाब दौड (कक्षा १-३, कक्षा ४-५), सुर्ती लेखन(कक्षा ४-५), हाजिरी जवाफ (कक्षा ४-५), दौड, हाई जम्प (कक्षा ६-८) लगायतका प्रतियोगितामा प्रतिस्पर्धा गराइएको थियो । विद्यालय अतिरिक्त क्रियाकलाप कार्यक्रम वडाका जोराघाट माध्यमिक विद्यालय, सातफरी, बेतालेश्वर, नवदुर्गा, सवडी, जनकल्याण र गौडेमसानी आधारभूत विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यार्थीलाई शैक्षिक सामग्री पुरस्कार र विद्यालयलाई प्रमाणपत्र दिइएको छ ।


प्रतियोगिताको उद्घाटन बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले गरेका थिए । अध्यक्ष गड्सिलाले पालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि गाउँपालिका प्रयासरत रहेको बताएका छन् । उद्घाटन कार्यक्रममा उनले पालिका भरिका कक्षा ६ देखि १२ कक्षा सम्मका विद्यार्थीहरूलाई निःशुल्क स्मार्ट कार्ड वितरण गरिने बताएका छन् ।
वडा अध्यक्ष दीप बहादुर बमले विद्यार्थीमा लुकेर रहेका प्रतिभा बाहिर ल्याउने उद्देश्यले प्रत्येक वर्ष कार्यक्रमको आयोजना भइरहेको बताएका छन् । ८ देखि १० कक्षा सम्मका विद्यार्थीहरू राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जस्ता कार्यक्रममा सहभागी हुन पाउने तर ८ कक्षा भन्दा तल्लो तहका विद्यार्थीलाई त्यस्तो कुनै अवसर नआउने हुँदा वडाले यस्तो कार्यक्रम गर्ने गरेको अध्यक्ष बमको भनाइ छ । आउने वर्षहरूमा यश कार्यक्रमलाई थप राम्रो बनाउँदै लग्ने उनले बताए ।
औपचारिक कार्यक्रमको अध्यक्षता जोराघाट माद्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रतन कामी, प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिला रहेका थिए ।
