डोटीमा “ह्याट्रिक” गरेका प्रेम आलेलाई सुखद् रहेन कैलाली

राममरि ओझा 
चैत्र ४, डोटी । डोटीबाट तिन पटक लगातार संसदीय चुनाव जितेका प्रेमबहादुर आले यस पटक संसद्मा देखिने छैनन् । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा कैलालीले उनको संसदीय यात्रामा ‘ब्रेक’ लगाई दिएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट कैलाली निर्वाचन क्षेत्र–५ मा उम्मेदवार वनेका आलेलाई तेस्रो स्थान हात पर्‍यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्दले ३१ हजार ९ सय ५३ मत पाउँदा आलेले ७ हजार ८ सय ८६ मतमै चित्त बुझाउनु पर्‍यो । यो मत सङ्ख्या चन्दले पाएको मतसंख्याको एक चौथाइभन्दा कम हो ।
२०५४ सालको स्थानीय निकाय निर्वाचन समेतलाई जोड्दा यो निर्वाचनसम्म आलेले डोटीमा ५ पटक पटक चुनावी प्रतिस्पर्धा गरे, २०६४ सालको पहिलो संविधान सभा निर्वाचन बाहेक डोटीमा उनले सबै प्रतिस्पर्धा उत्तीर्ण गरे । यस पटक डोटी छोडेर कैलाली झरेका आलेलाई कैलाली फापेन ।
०५४ सालको स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेबाट डोटी जिल्ला विकास समिति सदस्यको उम्मेदवार बनेका उनले नेपाली काँग्रेसका उम्मेदवार टेकबहादुर मडैलाई हराउँदै विजयी भएका थिए ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादीका उम्मेदवार खेमबहादुर बमसँग पराजित भए । बमले १० हजार ९ सय २९ मत पाई विजयी हुँदा आलेले ८ हजार ९ सय ४० मतमै रोकिनु पर्यो । २०७० मा भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा आलेलाई संसद् भवन छिर्ने सफलता मिल्यो । उनले प्रतिस्पर्धी नेपाली काँग्रेसका योगेन्द्र शाहीलाई १ हजार ४ सय ८६ मतले पछाडि पार्दै जित हासिल गरे । आलेले १२ हजार चार सय मत पाउँदा शाहीले १० हजार नौ सय १४ मतमै चित्त बुझाउनु पर्यो ।
२०७४ सालको प्रतिनिधि सभा सदस्यमा पनि आलेलाई सफलता मिल्यो । उनी एमाले–माओवादी गठबन्धनबाट उम्मेदवार बनेका आलेले नेपाली काँग्रेसका उम्मेदवार एवं बहालवाला मन्त्री वीरबहादुर बलायरलाई १ हजार ६ सय ३२ मतले पछाडि पार्दै दोस्रो पटक संसद् भवन पसे । आलेले ३२ हजार ५ सय १० मत पाउँदा प्रमुख प्रतिस्पर्धी बलायरले ३० हजार आठ सय ७८ मत प्राप्त गरेका थिए । “सुदूरपश्चिम प्रदेशको राजधानी दिपायल बनाउन सकिन भने संसद् पदबाट राजीनामा दिन्छु” भनी घोषणा गरेरै चुनावमा गएका आलेले चुनाव त जिते तर राजधानी डोटी नभएपछि आलोचित भए ।
Sayalb
एमाले र माओवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र आएको विवादका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको पक्षमा दर्होसंग उभिएका आले २०७७ पुस १० गते ओली सरकारमा मन्त्री समेत वनेका थिए । मन्त्री हुँदा उनी निकै चर्चामा पनि थिए । अदालतले तत्कालीन नेकपालाई विभाजन गरिदिएपछि आले एमालेभित्रको माधव नेपाल कित्तामा उभिए र ओलीका कटु आलोचक वने । २०७८ मा एमाले विभाजन भई नेकपा एकीकृत समाजवादीमा लागे ।
२०७९ मङ्सिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा उनी काँग्रेस–माओवादी–समाजवादी गठबन्धनबाट डोटीमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बने । उनले उक्त निर्वाचनमा पनि सफलता पाए । उनले एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २ सय ६ मतले पछि पार्दै सांसद वने । आलेले २७ हजार २ सय १० मत पाउँदा ओलीले २३ हजार ४ मतमै चित्त बुझाउनु पर्यो ।
निर्वाचन जितेको केही समयपछि उनी एकीकृत समाजवादीमा पनि निष्क्रिय थिए । २०८१ असारमा सम्पन्न भएको समाजवादीको १० औँ महाधिवेशनमा उनी सहभागी नै भएनन् । नेकपा माओवादी, एकीकृत समाजवादी लगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बन्दा भएपछि आले चर्चामा आएनन् । यसबिचमा उनका विषयमा काँग्रेस प्रवेश गर्ने, एमाले प्रवेश गर्ने, नयाँ दलमा जाने, राजनीतिबाट संन्यास लिने जस्ता विषय आइरहे तर उनको आधिकारिक धारणा आएन ।
निर्वाचनको मुखमा आएर उनी नेपाली कम्युनिस्ट पार्टी तिरै देखिए । उनले कैलालीको निर्वाचन क्षेत्र–५ बाट उम्मेदवारी दिए, तर यस पटक भने उनले सफलता हात पार्न सकेनन् ।
२०७०, २०७४ र २०७९ का तीन वटै संसदीय निर्वाचन जितेर ‘ह्याट्रिक’ गरेका आलेका लागि यो चुनावले धोका दियो । आलेका लागि डोटी उर्वरक भूमि जस्तो थियो तर कैलालीको माटोले उनलाई साथ दिएन ।
यसपालि शून्यले पनि छोड्यो आलेलाई 
२०५४ सालको स्थानीय निकाय निर्वाचनमा आलेले प्राप्त गरेको मत परिणामको रेकर्ड भेटिएन । २०६४ सालदेखि २०७९ सालसम्म भएको निर्वाचनमा उनले प्राप्त गरेको मतको परिणामको पछाडिको सङ्ख्या शून्य छ । २०६४ सालमा ८ हजार ९ सय ४०, २०७० मा १२ हजार ४ सय, २०७४ सालमा ३२ हजार ५ सय १० र २०७९ सालमा २७ हजार २ सय १० । तर यस पटकको निर्वाचनमा भने उनले प्राप्त गरेको मत परिणामको पछाडि शून्य आएन, ७ हजार ८ सय ८६ । २०६४ सालदेखि ०८२ सम्म उनले प्राप्त गरेको मतमध्ये सबैभन्दा कम मत पनि यसै निर्वाचनको छ ।
Shaileshwori
Loading...