डडेल्धुराकाे डाँडाबन पुल : स्थानीय भन्छन् “देउता रिसाउँदा पुल बनेन”

१९ साउन, डोटी । डडेल्धुरा सकायलमा निर्माण भईरहेको ४० मिटर लम्वाईकत्त एक मोटरेवल पुलको काम ११ बर्ष बित्दा पनि पुरा भएको छैन ।

स्थानीयबासीहरु देउता रिसाएका कारण पुल नवनेको बताउँछन् । निर्माणा व्यवसायीले पुल निर्माण नहुनुमा जग्गा बिवाद भएकाे दावी गरिरहँदा स्थानीयबासीहरू त्यसकाे खण्डन गर्छन् । ‘बिवाद–शिवाद केही भएको हैन, बरु देउता रिसाएको हुन सक्छ’ कलावती भन्छिन् ‘कुलाउँ देवता शक्तिशाली देवता हो, यसको थाननिरै पुल निर्माण गर्न थालियो, त्यसैले देउता रिसाएको हो ।’ उनी पुल वनाउनुभन्दा पहिलेनै देउताको थानको बिषयमा धामीसंग छलफल गर्नु पर्नेमा त्यसो नगर्दा देउता रिसाएको दावी गर्छिन् ।
एक अर्का स्थानीयको भनाई पनि उस्तै छ । ‘देउताको थानमा आएर मनपरी गरे, त्यसैले यो पुल बन्न ढिलाई भयो’ ति स्थानीय भन्छन् ‘दुई पटक त आधा बनिसकेको पुल गाड (खोला) ले बगायो ।’ उनका अनुसार पछि ठेकेदारले आएर देउतालाई भाकल गरेपछि काम अघि बढेको हो । देउताको थानको बिषयमा पनि पुलको लेण्टर गर्नअघिनै सहमति भईसकेको तर ठेकेदारलेनै काम नगरेको उनको भनाई छ । उनी थप्छन् ‘पार्टी र स्थानीय ठुलावडाहरुको संरक्षण पाएका ठेकेदारले जग्गा बिवादकाे बहाना बनाएर याे ठाउँकाे बद्नाम गर्न मिल्दैन । पुलकाे छेउमै कुलाउ देवताकाे थान छ ।

 

११ बर्षमा ८० प्रतिशत मात्रै प्रगति 

Sayalb

डडेल्धुराकाे गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिका जोड्ने गरी सकायल खोलामा ११ बर्षअघि निर्माण कार्य सुरु भएको डाँडावन मोटरेवल पुलमा अझै बनेकाे छैन ।

दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७२ साल भाद्र २८ गते सडक डिभिजन, कुलपाते डोटी र निर्माण कम्पनी राजेन्द्र–चाँदनी जेभीबीच पुलको ठेक्का सम्झौता भएको थियो । तर, ११ बर्ष बित्दासम्म ८० प्रतिशत मात्रै काम भएको सडक डिभिजनका सूचना अधिकारी ईन्जिनियर उदय कठायत वताउँछन् ।
भ्याट सहित ४ करोड ५३ लाख ४९ हजार लागतमा बन्ने भनिएको उक्त पुल निर्माणमा किन ढिलाई भएको हो भन्ने वारे जानकारी छैन स्थानीयबासीहरुलाई । निर्माण व्यवसायीका कारण पुल नवनेको हुन सक्ने उनीहरुको अनुमान छ । ‘पुल त उहिल्लै बनिसक्नु पर्ने थियो, किन पो हो काम हुँदैन’ गन्यापधुरा गाउँपालिका–३ की कलावती दमाई भन्छिन् ‘चार÷पाँच बर्षभन्दा बढी भईसक्यो, कोही पनि आउँदैनन् यतातिर ।’ निर्माणाधिन पुल दुई पटक खोलाले बगाएको कलावती वताउँछिन् ।
पुल निर्माण नहुनुमा जग्गाको बिवाद रहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी कठायत वताउँछन् । ‘हामीले पत्राचार गरेर सोध्दा निर्माण व्यवसायीले जग्गा बिवाद भएका कारण काम गर्न नसकिएको भनेर दिएका छन्’ कठायत भन्छन् ‘पुलको साईडमा देउताको थान छ रे, सो मास्न नमिल्ने भनेर स्थानीयले बिवाद गरेका छन् रे ।’
निर्माण व्यवसायी राजेन्द्र–चाँदनी जेभीका प्रतिनिधि लोकेन्द्र गुरुङ्ग पनि जग्गा विवादका कारण पुल निर्माण गर्न नसकिएको वताउँछन् । ‘पुलको छेउमा माटो फिलिङ्ग गर्नु पर्नेछ, त्यो ठाउँमा कुलाउ देवताको थान छ’ गुरुङ्ग भन्छन् ‘फिलिङ्ग गर्दा त्यो थान पुरिन्छ भनेर स्थानीयले बिवाद सिर्जना गरेका कारण ढिलाई भएको हो ।’ अव जग्गाको बिषयमा स्थानीयबासीहरुसंग कुरा मिलिसकेको र तीन महिनाभित्रै पुल निर्माण भईसक्ने उनले दावी गरे ।
उक्त पुलले आफुलाई निकै घाटा लगाएको दुखेसो पोख्छन् निर्माण व्यवसायी गुरुङ्ग । निर्माण गर्दागर्दै दुई पटक पुल खोलाले बगाएको उनले वताए । तेश्रो पटक निर्माण गर्दा देउताको थानको बिवाद सिर्जना भएपछि काम रोकिएको उनको भनाई छ । बिचमा आफु बिरामी हुँदा स्थानीयसंग छलफल चलाउन नसकेको उनी वताउँछन् ।
तर, स्थानीयबासीहरु निर्माण व्यवसायीकोउक्त दावीप्रति सहमत छैनन् । उनीहरु भन्छन् ‘११ बर्षसम्म नबनेको पुल तीन महिनामै बनिहाल्छ भनेर त कसरी बिश्वास गर्नु र !’
पुल निर्माण नहुँदा बर्षाको समयमा नवदुर्गा गाउँपालिकाको यातायात बन्द हुने गरेको स्थानीयको भनाई छ । खोलामा पानी बढेपछि आउजाउ बन्द हुने उनीहरुको भनाई छ । उनीहरु जग्गा विवाद देखाएर ठेकेदारले पन्छिन खोजेको समेत वताउँछन् । जग्गा सम्वन्धी कुनै बिवाद नभएको उनीहरुको दावी छ ।
सुरु सम्झौता अनुसार उक्त पुल २०७४ साल भाद्र २६ गतेभित्र बनिसक्नु पर्ने थियो । पुल बनेपछि डडेल्धुराको नवदुर्गा गाउँपालिकालाई केआई सिंह रागमार्गसंग जोड्ने छ ।

Shaileshwori
Loading...