मृत प्रहरी जवान साउँदको घाँटीमा धारिलो हतियारको चोट

गस्तीमा गएका बेला शनिबारदेखि बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मंगलबार फेला परेको छ ।

प्रहरी सहायक निरिक्षक गोविन्द विकको शव भेटिएको स्थानभन्दा करिब तीन सय मिटर पर मोहना नदीको बीच भागमा साउदको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट इन्चार्ज विक र प्रहरी जवान साउद शनिबार राति साढे आठ बजेतिर मोटरसाइकलमा सँगै गस्तीमा निस्केका थिए । त्यही राति दुवै जना बेपत्ता भएकोमा विकको शव आइतबार धनगढी–१०, वनकट्टिघाटस्थित नेपाल–भारत सीमानामा बग्ने मोहना नदीमा फेला परेको थियो ।

Sayalb

धारिलो हतियारले घाँटी रेटेर हत्या गरी नदीमा फालिएको अवस्थामा उनको शव फेला परेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० मुकेश सिंहले साउदको शव नदीको बीच भागमा बालुवामुनि च्यापिएको अवस्थामा फेला परेको बताए । घाँटीमा धारिलो घरेलु हतियारको चोट रहेकोले साउदको पनि पनि हत्या भएको सिंहले बताए ।

तस्करको समूहले राति गस्तीमा गएका प्रहरीको हत्या गरेको खुलेको प्रहरी स्रोतले जनाएको छ । भारतसँग जोडिएको उक्त नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ हो । हत्यामा संलग्न तस्कर समूहका केही व्यक्तिलाई पक्राउ गरिएको र उनीहरुले हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनीहरुले सुरुमा जवानको हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकारेका छन् ।

दुवै जनालाई नाका नजिक रहेको उखुबारीको छेउमा हत्या गरेर नदीमा फालेको खुलेको प्रहरी स्रोतको भनाइ छ ।

एसएसपी सिंहले पनि हत्यामा संलग्न समूहको पहिचान भइसकेको बताए । ‘हत्यामा संलग्न समूहको पहिचान भइसकेको छ । केहीलाई पक्राउ गरिएको छ । केहीको खोजी भइरहेको छ,’ उनले भने, ‘अहिले अनुसन्धानको क्रममै छौँ ।’

घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा केन्द्रीय अनुसन्धान व्यूरोबाट आएको टोली पनि आइतबारबाटै यहाँ खटिएको छ । हत्यामा संलग्न केही फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Shaileshwori
Loading...