नेपालमा बाबुरामलाई कोरोना,भारतमा गोयल आइसोलेसनमा के छ कनेक्सन ?

गत कात्तिक ५ (बुधबार) नेपालमा आएका भारतीय जासुसी संस्था रिसर्च एन्ड इन्टेलिजेन्स विङ्स (रअ) प्रमुख सामन्त गोयलका कारण नेपाली राजनीति अझै तरंगित छ।
गोयललाई कात्तिक ५ को बेलुका नै बालुवाटारमा २ घण्टासम्म संवाद गरेको घटना सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना अझै रोकिएको छैन। तर यसबीच प्रधानमन्त्री ओलीसहित अन्य शीर्ष नेतासँग पनि गोयलले संवाद गरेको खुल्दै गएको छ। भारतीय सञ्चारमाध्यमहरुले त रअ प्रमुखले प्रधानमन्त्री ओलीलाई मात्रै नभई अन्य नेतालाई पनि भेटेको समाचार नाम नै तोकेर छापेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार गोयलले भेटेका नेताहरुको सूचीमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला र जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर पनि छन्। तर केही नेताले गोयलसँगको भेटलाई सार्वजनिक रुपमै खण्डन गरिरहेका छन्।
परराष्ट्रलाई थाहै नदिई भेटेको भन्दै सत्तारुढ नेकपाकै नेताहरु नारायणकाजी श्रेष्ठ र भीमबहादुर रावलले भनाइ सार्वजनिक गरेर चर्को आलोचना गरिरहेका छन्। यस्तो अवस्थामा भारतको चर्चित पत्रिका द प्रिन्टको अनलाइन संस्करणले मंगलबार जनता समाजवादी पार्टीका पहिलो वरीयताका डा. बाबुराम भट्टराईलाई भेटेको दाबीसहितको समाचार प्रकाशित गरेको छ।

द प्रिन्टले किन एनएसए डोभाल र उनका मान्छे विदेश मन्त्रालय भन्दा नेपालमा चासो दिइरहेका छन्? शीर्षकको समाचारमा प्रधानमन्त्री ओली, बाबुराम र अन्य नेताहरुसँगको भेटेको चर्चासँगै नेपालमा भारतीय कूटनीति फेल भएको पनि चर्चा गरिएको छ।
नेपाल आएको पहिलो दिन कात्तिक ५ मा प्रधानमन्त्रीसँग संवाद गरेका गोयलले डा. भट्टराईलाई पनि भेटेको दाबीसहित प्रिन्टले समाचार छापेको हो। प्रधानमन्त्री ओली र बाबुरामसहितका शीर्ष नेतालाई भेटेर गोयल भोलिपल्ट विशेष विमानमार्फत दिल्ली फर्किएका थिए।
गोयल दिल्ली उडेको पर्सिपल्ट अर्थात् शनिबार डा. बाबुराम र पत्नी हिसिलालाई कोरोना पुष्टि भयो। एक महिनादेखि देशभर राजनीतिक भेला र बैठक गर्दै हिँडेका बाबुरामलाई कोरोना पुष्टि भएपछि उता नयाँ दिल्लीमा रअ प्रमुख गोयल पनि सेल्फ आइसोलेसनमा बसेको दाबी द प्रिन्टले गरेको छ।
बाबुरामको सचिवालयले यस कुराको पुष्टि नगरे पनि द प्रिन्टले उनलाई कोरोना पुष्टि भएपछि गोयल सेल्फ आइसोलेसनमा बसेको हुन सक्ने उल्लेख गरेको छ।
