नेकपा सचिवालय बैठक सम्पन्न, ओलीको जवाफी प्रस्ताव पेस
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यलाई अध्ययनका लागि दिइएको छ । प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । ओलीको प्रस्ताव खाममा राखेर सचिवालय सदस्यलाई दिइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो । अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ कै सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गरिसक्नुभएको छ ।
दुवै प्रस्तावको अध्ययन गरेर अर्को बैठक बस्नेगरी सचिवालय बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै प्रवक्ता श्रेष्ठले बैठकमा दुई अध्यक्ष सहित नेताले आफ्नो धारणा राखेको बताउनुभयो । प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन तयार पार्न समय मागेपछि दश दिनपछि आज सचिवालय बैठक बसेको छ । नेकपाको मंसिर १८ गते स्थायी कमिटी र मंसिर २५ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।