पञ्चायत कालका राजनीतिज्ञ नयनबहादुर स्वारको निधन

पञ्चायत कालका दिग्गज राजनीतिज्ञ नयनबहादुर स्वारको निधन भएको छ । वि.स १९८४ साल भाद्रमा अछाम जिल्लाको रिडिकोटमा जन्मिएका स्वारको बिहीबार ९३ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो ।
उनी पञ्चायत कालमा चार पटक राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए ।
२०२५ असोजमा भूमिसुधार राज्यमन्त्री नियुक्त भएका स्वार २०३० साउनदेखि २०३२ मंसिरसम्म राष्ट्रिय पञ्चायतको अध्यक्ष रहेका थिए । २०३७ जेठमा कानुन तथा न्यायमन्त्री र २०३८ असारमा गृहमन्त्री नियुक्त भएका स्वार पञ्चायतको अन्तिम मन्त्रिमण्डल २०४६ चैतमा पनि केही समय गृहमन्त्री थिए । २०४६ सालपछि राप्रपामा केही वर्ष सक्रिय रहे पनि पछिल्लो समय भने निष्क्रिय थिए ।

स्वार अछाममा सरकारी कार्यालय राख्ने मागको सुनुवाइ नभएपछि अछामको भ्रमणमा आएका राजा महेन्द्र चढेको घोडामा झुण्डिएर राजासमक्ष आफ्नो माग र्पुयाउन सफल भएपछि पहिलो पटक चर्चामा आएका व्यक्ति हुन् । उनकै प्रयासले डोटी र दैलेखको प्रशासनिक नियन्त्रण अन्तर्गत बाँडिएका भेगहरूलाई जोडेर अछाम जिल्लाको गठन गरिएको थियो ।
स्वार पहिलोचोटि २०१६ सालमा नेपाल राष्ट्रवादी गोरखा परिषदको तर्फबाट संसदको माथिल्लो सदन (महासभा) को सदस्य निर्वाचित भएका थिए । उनका श्रीमती दुई छोरा र दुई छोरी छन् ।
