जव रेखाले हिम्मत देखाईन् तव प्रचारमा आयो लिङ्गा

रामहरि ओझा /डोटी
‘२०७१÷०७१ सालसम्म यहाँ खासै कोही आउँदैनथे । वरपरका गाउँबाट मात्रै सिद्ध पुज्न आउँथे । अचेल त टाढाटाढाबाट पनि यस क्षेत्रको दर्शन गर्न आउँछन् ।’ कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका–४ मा रहेको अनौठो धार्मिक तथा पर्यटकीय स्थलको बिषयमा स्थानीय पदमराज भट्टको धारणा यस्तो छ ।
स्थानीय बमनगाउँबासी यस क्षेत्रलाई परेवाखरी (परेवा खोर) भनेर चिन्दथे । परेवाहरु लुक्ने ठाउँ भएका कारण यसलाई परेवाखरी भनिन्थ्यो । धार्मिक रुपमा सिद्ध बाबाको क्षेत्र मान्ने स्थानीयहरु यहाँ जेठ र फागुन महिनामा पुजाका लागि भेला हुन्थे । यो क्षेत्र राष्ट्रियस्तरको पर्यटकीय आकर्षण वन्ने कुरा कसैले सोचेका थिएनन् । ‘कसैले बमनखोला भनेर चिन्थे, कसैले गोठसारी’ पदम भन्छन् ‘यसलाई सिद्ध शिवलिङ्ग धाम भनेर चिनाउने श्रय रेखा थापालाई जान्छ ।’
परेवाखरीमा के छ त्यस्तो ?
बेदकोट नगरापालिका–४ को बमनगाउँको सिरानीमा रहेको यो क्षेत्र पहाडी भू–भागसंग जोडिएको छ । बैजनी रङ्गको माटो रहेको यस क्षेत्रमा माटाका सयौं खम्वाहरु छन् । सियोको जस्तै बनावटमा देखिने यि खम्वाहरु निकै आकर्षक देखिन्छन् । स्थानीयहरु यि खम्वाहरुलाई शिवलिङ्ग भन्छन् । यस क्षेत्रको भ्रमण गर्न आउनेहरु यि लिङ्गाहरुसंग फोटो खिच्दै रमाउँछन् । स्थानीय देवसिंह धामीका अनुसार यो क्षेत्र २०२७ सालमा पहिचानमा आएको थियो । ग्वालाहरुले गाईबस्तु चराउने बेलामा उक्त ठाउँ देखेका र त्यसैबेलादेखि सिद्ध शिवलिङ्ग भनेर स्थानीयले पाठ पुजा गर्दै आईरहेको धामीले वताए ।
‘जव लामो समयसम्म पानी पर्दैन तव हामी गाउँलेहरु यस ठाउँमा आएर सिद्धको पुजा गर्छौं, अनि बर्षा हुन्छ’ ७१ बर्षीय धामी भन्छन् ‘शुद्ध मनले यस थानमा आएर प्रार्थना गरे मनले चिताएको पुरा हुन्छ ।’ उनले यस क्षेत्रमा अनावश्यक हल्लाखल्ला गर्न नहुने, शुद्ध भएर आउनु पर्ने वताए ।
माटोका लिङ्गाहरु भएका कारण यस क्षेत्रलाई स्थानीयहरु “लिङ्गा” कै नामले चिन्छन् । २०७१ सालमा बेदकोट नगरपालिकाले लिङ्गा नजिकै मन्दिर निर्माण गरेको पदमराज वताउँछन् । यस्तै यस क्षेत्रको पर्यटकीय विकासका लागि सडक पु¥याएको, यस क्षेत्रमा आवश्यक पूर्वाधारहरुको निर्माण भईरहेको उनी वताउँछन् ।

के गरिन् रेखा थापाले त्यस्तो ?
प्राकृतिक रुपमा सुन्दर लिङ्गा क्षेत्र प्रचार अभावका कारण ओझेलमै थियो । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा निर्माता रेखा थापाले यस क्षेत्रको प्रचारका लागि महत्वपूर्ण योगदान दिएको स्थानीयहरुको भनाई छ । अभिनेत्री थापाले यस क्षेत्रमा आएर चलचित्रको छायाङ्कन गरेपछि यस क्षेत्रको पहिचान भएको स्थानीयहरु बताउँछन् ।

Sayalb

स्थानीय लोकवहादुर धामी भन्छन् ‘फिल्ममा यहाँको सिन पनि छ र रेखा थापाले सामाजिक सञ्जालमा पनि यहाँको फोटो राखेपछि यो क्षेत्र चर्चामा आएको हो ।’ त्यसपछि यहाँ देशका बिभिन्न स्थानहरुबाट पर्यटकहरु आउन थालेको लोकवहादुरको दावी छ ।

रेखा थापाद्वारा निर्मित तथा अभिनित चलचित्र “हिम्मतवाली” को‘तिमिले छोएर म बेहोस बनु, दुनियाँ सारा चिन्दिनँ भनु’ बोलको गित लिङ्गा क्षेत्रमै छायाङ्कन भएको थियो ।त्यसपछि यहाँ दिनहुँ करीव एक हजार पर्यटकहरु आउने गरेको स्थानीयको दावी छ ।

यद्यपी छायाङ्कन सकेर फर्केपछि रेखा थापालाई देवीले समातेको स्थानीयहरु वताउँछन् । देवी उतार्न रेखा दुई पटक यस क्षेत्रमा आएको समेत उनीहरुको दावी छ । ‘लिङ्गालाई महिलाहरुले छुनु हुँदैन, त्यस क्षेत्रमा रातो कपडा लाएर जानु पनि हुँदैन’ स्थानीय देववहादुर भन्छन् ‘रेखाले त्यसै क्षेत्रमा गएर अभिनय गरेका कारण देवी रिसाएकी हुन् ।’

रेखाले स्थानीयबासीहरुको भनेको नमानेर त्रिसुल खुट्टामा रापेका कारण पनि यस्तो भएको स्थानीयको दावी छ । गितमा नाच्दै गर्दा रेखाले त्रिसुल उठाएर “सत्या”को खुट्टामा सजाएको दृष्य देखिन्छ । ‘उनलाई महिनावारी भएको पाँच दिनमात्रै भएको रहेछ, यस क्षेत्रमा सात दिन नभई आउनै पाईदैन’ हाल यस क्षेत्रको संरक्षक समेत रहेका पदमराज भट्ट भन्छन् ‘देवीले आफ्नो अपमान गरेको सम्झिन् ।’

Shaileshwori
Loading...