मुलुकलाई निकास दिनै पर्ने भएकाले संसद विघटन गरी निर्वाचन घोषणा गरेको प्रधानमन्त्रीको दाबी

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई निकास दिनै पर्ने भएकाले संसद विघटन गरी निर्वाचन घोषणा गरेको बताउनुभएको छ । आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई दलभित्रको कचिंगलको बन्धक बनाउन नहुने भएकाले विघटन गरेको बताउनुभयो ।

विगतका सबै तीता पीरा कुरा बिर्सेर निर्वाचनमा सघाउन पार्टी पंक्तिलाई प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले सरकारमाथि असहयोग र घेराबन्दीका कारण संसद विघटन गरी जनताको बीचमा जानु परेको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले आम निर्वाचनको जनादेश र जनभावना विपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको दाबी गर्नुभयो ।
‘यो आकस्मिक र अप्रत्यासित देखिएको भए पनि लामो समयदेखि थियो । केही नेताका विकृत र जनअपेक्षा विपरीतका गतिविधिका कारण सिर्जना भएको हो, ओलीले सम्बोधनमा भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकताको निर्णय आम निर्वाचन मार्फत् अनुमोदन भए पनि त्यसपछि राजनीतिलाई जनअपेक्षाअनुरूप अघि बढ्न नदिने गरी विसंगत गतिविधि भएकाले यस्तो परिस्थिति आएको बताउनुभयो ।
