अविश्वासको प्रस्तावको सामना गर्ने मुख्यमन्त्री राईको भनाइ

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव दृढताका साथ सामना गर्न तयार रहेको बताउनुभएको छ । आज बिहान १० बजेर ४३ मिनेटमा प्रदेशसभामा सत्तारूढ नेकपाभित्रकै ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री राईले दिउँसो पत्रकार सम्मेलन गरी यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्रीको रूपमा आफूले सफल नेतृत्व गरिरहेको, प्रदेशलाई सही दिशामा बढाइराखेको र संघीयतालाई संस्थागत गर्ने कुरामा नेतृत्व गरिरहेको भन्ने कुरा प्रदेशसभाका बहुमत सदस्यहरूलाई थाहा भएको दावी गर्दै यसले पनि अविश्वासको प्रस्ताव सामना गर्न सजिलो हुने उहाँको भनाइ छ ।
आज दर्ता भएको अविश्वास प्रस्ताव १ नम्बर प्रदेशमा प्रदेश सरकार असक्षम भएर, काम गर्न नसकेर र प्रदेश सरकारले वा मुख्यमन्त्रीले नाजायज काम गरेर नभएको मुख्यमन्त्री राईको भनाइ छ । केन्द्रीय सरकारलाई आफ्नै पार्टीबाट घेराबन्दी गरेर काम गर्न नदिएपछि जनताको म्यान्डेटप्राप्त प्रधानमन्त्रीले ताजा जनादेशमा जान चालेको कदमलाई उपयुक्त विकल्प भएको दावी उहाँले गर्नुभयो ।
