डोटीमा प्रचण्ड—नेपाल समूहको जिल्ला भेला सम्पन्न, ९ पालिकाका अध्यक्ष सहित एक सय ७ जना जिल्ला कमिटि सदस्य उपस्थित

रामहरि ओझा / ११ पुस, डोटी
प्रचण्ड माधव नेपाल समूहको नेकपाको डोटी जिल्ला भेला आइतबार सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि प्रस्ट दुई समूह देखिएको नेकपामा पहिलो पटक औपचारिक भेला आयोजना गरिएको हो । जिल्ला कमिटीको विस्तारित बैठक नाम दिइएको उक्त भेलामा जिल्ला कमिटीका एक सय ४५ सदस्यमध्ये एक सय सात जनाको सहभागिता रहेको जिल्ला अध्यक्ष चक्र मल्लले जानकारी दिए । भेलामा जिल्लाका नौ वटै स्थानीय तहका पार्टी कमिटीका अध्यक्षहरूको सहभागिता रहेको समेत सचिव जङ्ग विकले जानकारी दिए । सचिव विकले भने ‘ २० जना जिल्ला कमिटी सदस्यले हाम्रो समर्थन छ भन्नु भएको छ, एक सय ७ जना उपस्थित हुनुहुन्थ्यो ।’

भेलालाई सम्वोदन गर्दै नेकपा सुदूरपश्चिम प्रदेश समिति सदस्य नेपवहादुर चौधरीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कु’ गरेको आरोप लगाए । पार्टीको सर्वोच्चता र संवैधानिक सर्वोच्चता भन्दामाथि उठेर प्रधानमन्त्री ओलीले संविधान विरोधी कदम चालेको बताए । उनले आफूहरूको लडाई कुनै व्यक्ति विशेषका विरुद्ध नभई प्रवृत्तिका विरुद्ध भएकोले संसद् विघटनका विरुद्ध पार्टीले गरिरहेको विरोधमा सक्रियतापूर्वक भाग लिन सबै कार्यकर्ताहरुलाई निर्देशन दिए ।
चौधरीले ओली समूहले कसैलाई मन्त्री वनाउने, कसैलाई सरकारी नियुक्तिमा लैजाने र कसैलाई केन्द्रीय सदस्य बनाउने लोभ देखाउँदै जति भिड देखाउने प्रयास गरेको भए पनि आधिकारिकता आफूहरूले पाउने दाबी गरे । उनले ओलीले पार्टी अनुशासनको गम्भीर उलङ्घन गरेको समेत दाबी गरे ।
विस्तारित बैठकले पुस २० गतेभित्र नौ वटै स्थानीय तहका पार्टी कमिटीहरूको बैठक बस्ने, १४ गते हुने जनप्रदर्शनहरुलाई व्यापक वनाउने लगायतका निर्णय गरेको सचिव बिकले वताए ।
