प्रधानमन्त्री ओलीलाई लोकतन्त्र विरोधी भनेर अपमान गर्न नमिल्ने मुख्यमन्त्री पोखरेलको भनाई
कपिलवस्तु : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्र विरोधी भनेर अपमान गर्न नमिल्ने बताउनुभएको छ । कपिलवस्तुको आरटिओ सडकको उद्घाटन गर्दै उहाँले देशमा संकट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर संसद बिघटन गरेको बताउनुभयो । उहाँले सडक आन्दोलन छाडेर निर्वाचनको तयारी गर्न पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहका नेताहरुलाई सुझाव दिनुभयो ।
मुख्यमन्त्री पोखरेलले सडकले मधेशको विकास र समृद्धि ल्याउने बताउनुभयो । प्रदेश सरकारको महत्वपूर्ण कामको रुपमा हुलाकी सडक रहेकोले सडक निर्माणपछि नागरिकहरुको दैनिकीमा समेत परिवर्तन हुने बताउनुभयो ।मुख्यमन्त्री पोखरेलले सिँचाइ सुविधाका लागी नौमुरे सिँचाइ योजनाको काम अघि बढेकाले यसले जिल्लाको सिँचाइको समस्यालाई समाधान गर्ने बताउनुभयो । उहाँले सुकुम्बासी बस्तीको बाहुल्यता रहेको विजयनगरबासीलाई अहिलेकै सरकारले लालपुर्जा दिने पनि बताउनुभयो ।