स्वतन्त्र भन्ने मान्यताको हैसियत दुरूपयोग भएको प्रधानमन्त्रीको भनाई

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र भन्ने मान्यताको हैसियत दुरूपयोग गर्दै केही बुद्धिजीवि र पूर्वप्रधानन्यायाधीश राजनीतिक पूर्वाग्रहमा लागिपरेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभा विघटनपछि पहिलोपटक राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वतन्त्र भनेर चिनिएका व्यक्तिहरू राजनीतिक पूर्वाग्रहका साथ लागिरहेको आरोप लगाउनुभएको हो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक छ भन्नेलाई संविधान पढ्न सुझाव दिन चाहन्छु, पहिला संविधान पढ्नुहोस् अनि बहसमा आउनुहोस्, प्रधानमन्त्रीले भन्नुभयो । स्वतन्त्र भनेर मान्यता पाएकाहरू अहिले हैसियत बिर्सेर राजनीतिक पक्षधरता देखाइरहेको पनि उहाँले बताउनुभयो । आफ्नो हैसियतको दुरूपयोग गरेर न्यायालयलाई दबाबमा पार्न काम भइरहेको भन्दै उहाँले त्यसो नगर्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको पनि धारणा राख्नुभयो । चुनाव हुनु अस्थिरता नभएको उहाँको भनाइ थियो ।
संवैधानिक बाटोबाट जाँदा अस्थिरता भनिँदैन, उहाँले भन्नुभयो , ‘अस्थिरता त्यतिबेला हुन्छ, जतिबेला बाध्य शक्तिको इशारामा जब देशका शक्तिहरु गोटी बन्न थाल्छन् । राष्ट्रिय राजनीतिलाई अस्वस्थतातिर धकेल्न थाल्छन् । आफूले ५ वर्ष सरकार टिकोस् भन्ने चाहेको तर आफ्नै पार्टीका नेताहरुले देशलाई अस्थिरतामा लैजाने प्रयास गरेको उहाँको आरोप छ । संसद विघटनलाई असंवैधानिक र गैरजिम्मेवारपूर्ण कदम भनेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोख्नुभयो ।
