धेरै चुनाव आए गए तर श्रमिकका दिन कहिले आएनन्

तेजु ओली/ डोटी
पछिल्लो समय डोटीका अधिकांश ठाउँका महिलाहरु गिट्टिकुटेर जिबिका चलाउदै आएका छन । दिपायल सिलगढी नगरपालिका वडा नं १ गोदरे खोलामा गिट्टी कुटेर जीविका चलाउने महिलाहरू पनि धेरै छन् । उनीहरू बिहान उज्यालो भएपछि बेलुका अँध्यारो नहुँदासम्म गिट्टी कुट्नमै व्यस्त रहन्छन् । गिट्टी कुटेर जीविका चलाउँदै आएकी दिपायल सिलगढी नगरपालिका वडा नं २ कि पुतलि खडका भन्छिन्, “धेरै चुनाव आए गए, नेताहरू माथि माथि गए, तर श्रमिकहरूलाई कसैले ध्यान दिएनन् । बिहान ७ बजे गिट्टी कुट्न आउँछु, घर पुग्दा राति हुन्छ, मासिक २५ सयभन्दा बढी कमाउन सकिंदैन । सधैंभरि मजदुरी गरेर यसरी कहाँ जीविका चलाउन सकिएला र ? ” श्रमिक महिलाहरू स्थानीय सरकारले गिट्टी कुट्नेको ज्यालामा ध्यान दिनुपर्ने बताउँछन् ।

त्यस्तै आदर्श गाँउ पालीका कि सम्झना ओझा, सडक छेउमा समुहमा गिट्टी कुट्नु हुन्छ उहा भन्नुहुन्छ,आम्दानी निकै कम हुन्छ, महिलाले गिट्टी कुट्दा निकै आपत् हुन्छ ।” दिनभर गिट्टी कुट्दा हात फुटेर छिया छिया भएका छन । “गिट्टी कुटेर धेरै आम्दानी हुँदैन, खानाको जोहो गर्ने कि छोराछोरी पढाउने ?” आर्थिक हिसाबले निकै विपन्न भएकाले यहाँ मजदुरी गरेर जीविकोपार्जन गर्नु परेको उनीहरू बताउँछन् । दैनिक गिट्टी कुटेर जीवन चलाएका महिलाहरूलाई स्थानीय तहले उनिहरुको स्रमलाइ कार्यक्रममा प्रेरित गर्नुपर्ने स्थानीयको भनाइ छ ।
