तिन दिने माकुरा समुहको क्षमता विकास तथा नेतृत्व हस्तान्तरण तालिम सम्पन्न
यज्ञ बहादुर थापामगर/डोटी
“दिगो शान्तिका लागि उन्नत सम्बन्ध” भन्ने मुल नाराका साथ प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र नेपाल डोटीले बहुसरोकारवाला विवाद जल,जमिन र जंगलमा काम गर्ने क्रममा आदर्श गाउपालिका वडा नम्बर २ स्थित चिउरीगडो सामुदायिक वन र शिखर नगरपालिका वडा नम्बर ११ स्थित चिउरीछडो सामुदायिक वन उपभोक्ता समुहविचको सिमाना विवादमा प्रकृयागत रुपमा माघ १३ गते देखि संचालन भएको माकुरा समुहको क्षमता विकास तथा नेतृत्व हस्तान्तरण तालिम आज एक औपचारिक कार्यक्रमका विच गोपघाटमा सम्पन्न भएको छ । माकुरा समुहका संयोजक बाजी साउदको अध्यक्षतामा भएको कार्यक्रम शिखर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भिष्म बहादुर बलायरको प्रमुख आतिथ्यता रहेको थियो । साथै सामुदायिक वनका अध्यक्ष र अन्य उपभोक्ताहरुको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।
२०५१ सालदेखि विवादमा रहेकोे दुबै सामुदायिक वन हालसम्म पनि विभिन्न उपाय तथा मेलमिलाप गर्दा पनि मिल्न नसकेपछि प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले विक्रम संवत २०७७ सालदेखि कामको सुरुवात गरेको राष्ट्रिय श्रोत व्यक्ति लोक बहादुर थापाले बताउनु भयो । साथै उहाँले आगामी दिनमा दुबै सामुदायिक वनको विवादलाई सहजीरकण गर्नको लागि र समाजमा हुने विवादलाई मेलमिलापको माध्यमबाट समाधान गर्न सकुन भन्ने उदेश्यले माकुरा समुहलाई तालिम संचालन गरिएको थापाले जानकारी दिनु भयो । यसै गरि कार्यक्रममा चिउरीछडो सामुदायिक वनका अध्यक्ष चक्र बहादुर बलायरले लामो समयसम्म हामी दुबै पक्षले विभिन्न प्रयास गर्दा पनि मिल्न नसकेको हुनाले संस्थाको प्रकृया अनुसार सबैले सहभागिता भएर लाग्ने हो भने विवाद रुपान्तरण हुने कुरामा जोड दिनु भयो । यो वन सधैं यस्तै अवस्थामा रहने भएकाले हामीले वनको लागि सम्बन्ध विगार्न नहुने बताउनु भयो । यसै गरि प्रमुख अतिथि समेत रहनु भएको शिखर नगरपालिका वडा नं। ११ का वडा अध्यक्ष भिष्म बहादुर बलायरले दुबै पक्षको फाटेको मनलाई मेलमिलापको माध्यमबाट सहजीकरण गरि सुमधुर सम्बन्ध कायम गर्न पहल गर्नको लागि संस्थाले सहयोग गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्नु भयो । साथै यहाँले यस संस्थाले डोटी जिल्ला लगायत अन्य जिल्लामा पनि सामुदायिक वन तथा अन्य विवादमा काम गर्ने भएकाले दुबै पक्षले जित जित हुने गरि विकल्प निकाल्दै जानु पर्ने धारणा राख्नु भयो ।
अध्यक्ष बलायरले माकुरा समुहले तिन सदनको अवधिमा सिकेका सिप तथा ज्ञानलाई व्यवहारमा लागू गर्न सुझाव समेत दिनु भयो । सामुदायिक वनमा पुरानो सोचले गर्दा विवाद हुने भएकाले आगामी दिनमा नयाँ पिढींले सकारात्मक रुपमा लिएर विवादलाई सहजीकरण गर्नु पर्ने र विवादलाई समाधान गर्नको लागि दुबै सामुदायिक वन र संस्थाको लागि आवश्यक पर्ने सहयोग वडा कार्यालयको तर्फबाट हुने बताउनु भयो । हामी दुबै सामुदायिक वनका उपभोक्ताहरु जिउदाको जन्ती र मर्दाको मलामीको सम्बन्ध रहेको हुनाले वनको संरक्षण गरि भोगचलन गर्न तर्फ आग्रह गर्नु भयो । कार्यक्रमलाई समापन गदै माकुरा समुहका संयोजक बाजी साउदले हामी सबैले एक आपसमा हातेमालो गरेर दुबै पक्षलाई सहभागिता गरेर विवादलाई रुपान्तरण गर्न तर्फ लाग्नु पर्ने बताउनु भयो । साथै उहाले आगामी दिनमा सबैको मन मिलाउन आवश्यक रहेको हुनाले माकुरा समुहले सक्रिय भूमिकाका साथ अगाडि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रम संचालन सहजकर्ता यज्ञ बहादुर थापामगरले गर्नु भएको थियो ।