

भदौ ११, डोटी । डोटीमा सिकार खेल्ने क्रममा अमर थापाको ज्यान गएको प्रकरणमा पक्राउ परेका एक जना कारागार चलान भएका छन् ।
थापाको मृत्यु प्रकरणमा पक्राउ परेका दिपायल सिलगढी नगरपालिका–८ डांडागाउँका ३४ वर्षीय रामबहादुर साउद पुर्पक्षको लागि कारागार चलान भएको प्रहरीले जानकारी दिएको छ । सोही घटनामा पक्राउ परेका दिपायल सिलगढी नगरपालिका–८ डांडागाउँकै ४३ वर्षका डिल्ली साउद भने २ लाख धरौटीमा रिहा भएका छन् ।
सो घटनामा दुई जना पक्राउ परेकोमा राम बहादुर साउँद पुर्पक्षको लागि कारागार चलान भएको र डिल्ली साउद धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा डिएसपी भिमलाल भट्टराईले जानकारी दिए ।
गत साउन १८ गते पूर्विचौकी गाउँपालिका–६ वडातडाको घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्ने क्रममा ३० वर्षीय अमर थापाको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार रामबहादुरले चलाएको बन्दुकबाट निस्केको गोली लागि थापाको मृत्यु भएको थियो ।
