
पुस ४, डोटी । सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालको ३२ औँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार सिलगढी स्थिति जिल्ला समन्वय समिति डोटीको सभाहलमन संस्थाको वार्षिक साधारण सभा तथा आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
संस्था मार्फत आर्थिक वर्ष भरी सम्पादित क्रियाकलाप, बजेट तथा प्राप्त उपलब्धि सहित कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन संस्थाको महिला सशक्तीकरण तथा बाल अधिकार संरक्षण कार्यक्रमका कार्यक्रम संयोजक गिरिराज पाठकले प्रस्तुत गरेका थिए । संस्थाले गत वर्ष महिला सशक्तीकरण तथा बाल अधिकार संरक्षण कार्यक्रम, एकीकृत सामुदायिक विकास परियोजना, नयाँ आशा परियोजना, सुदूरपश्चिममा बहिरा विद्यार्थी सहयोग कार्यक्रम र रेन्ट सहयोग कार्यक्रम गरी पाँच ओटा परियोजना मार्फत कार्य गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काले देशको विकासमा संघसंस्थाको भूमिका अहम् रहेको बताए । समाजमा गैह्र सरकारी संस्थाहरूले गरेका कामहरूप्रति आफू विश्वस्त रहेको र राम्रा कामहरूको प्रचारमा जोड दिनुका साथै पारदर्शितामा ध्यान दिनुपर्ने उनले बताएका छन् । भएका कामको उचित प्रचार गर्न नसक्नु पनि कमजोरी हुनेमा उनले सचेत गराए । डोटीमा समाज रूपान्तरणका लागि सिडिएफले खेलेको भूमिका पनि प्रशंसनीय रहेको उनले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति डोटीका उपप्रमुख स्मृति चुनाराले सिडिएफलाई आफूले धेरै पहिलादेखि नजिकबाट चिनेको बताएकी छन् । उनले आफू पनि केही समय पहिला सिडिएफको लाभग्राही भएको सम्झिँदै पूर्विचौकी-७ पोखरीमा रहेको सहकारीका सदस्यलाई संस्थाले गर्ने सहयोगले लाभ मिलेको बताइन् । गैरसरकारी संस्थाहरू सञ्चालन हुन कठिनाइ भइरहेको समयमा सिडिएफले ३१ वर्ष सफलतापूर्वक पूरा गर्नु सुखद भएको बताइन् ।

संस्थाका सामाजिक क्रियाकलाप पारदर्शी र जनसहभागितामुलक भए मात्रै संस्था लामो समयसम्म चल्न सक्ने जिल्ला प्रशासन कार्यालय डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी भोज बहादुर ऐडीले बताए । गैरसरकारी संस्था महासङ्घ डोटीकी कोषाध्यक्ष लक्ष्मी देउवा बमले केही दिन पहिला मात्रै सिडिएफले गरेका कामको अनुगमन आफू गएको र वास्तवमै राम्रो काम भएको भन्दै संस्थाको प्रशंसा गरेकी छन् । लक्षित वर्ग र सरोकारवालबाट पनि संस्थाको कामलाई राम्रो प्रतिक्रिया आएको उनको भनाइ छ ।
पत्रकार महासङ्घ डोटीका अध्यक्ष प्रकाश बमले सामुदायिक विकास मञ्चले शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जन जस्ता क्षेत्रमा काम गरिरहेकोमा खुसी व्यक्त गर्दै दायरा बढाउन आग्रह गरेका छन् । जिल्लामा लागू औषध सेवन गर्नेहरुको सङ्ख्या बढ्दै जाँदा विभिन्न चुनौतीहरू सिर्जना भएको अुँदा यता पनि ध्यान दिन अनुरोध गरे ।
संस्थाले हरेक वर्ष सामाजिक परीक्षण कार्यक्रम गरेर आफूले गरेका कार्यसम्पादनमा नागरिक प्रतिको उत्तरदायित्व पुरा गर्ने गरेको सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालका अध्यक्ष खडकराज शर्माले बताए । लामो समयदेखि क्रियाशील संस्थाले विगतमा जस्तै आउने वर्षहरूमा पनि सरकारसँग सहकार्य गरेर सरकारलाई साथ दिन तयार रहेको र कार्यक्रममा उठेका सल्लाह सुझावलाई सिरोपरि गर्दै अगाडि बढ्ने अध्यक्ष शर्माले बताए ।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजि सिंह खड्का, जिल्ला समन्वय समितिकाका उप–प्रमुख स्मृति चुनारा, डोटीका प्रहरी प्रमुख, अनुसन्धान प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, लाभान्वित वर्ग, सरोकारवाला र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । सामाजिक परीक्षणको सहजीकरण पत्रकार नवराज जोशीले गरेका थिए ।

