
चैत २३, डोटी । जिल्ला अस्पताल डोटीको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर बोहराले पदभार ग्रहण गरेका छन् । एक वर्षदेखि अस्पताल समितिविहीन रहेकोमा आज एक कार्यक्रमका बिच अध्यक्ष बोहराले पदभार ग्रहण गरेका हुन् ।

बोहरालाई गत चैत १८ गते सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले जिल्ला अस्पताल डोटीको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकोमा चैत २० गते नियुक्ति दिएको थियो । पदभार ग्रहणपछि अध्यक्ष बोहराले अस्पताललाई सफा राख्ने, सेवाग्राहीलाई सहज सेवा तथा गुणस्तरीय सेवा दिने गरी कार्य अगाडी बढाउने बताए ।
उनले भने, “म र मेरो नेतृत्वको समितिले व्यवस्थापनको पाटो मात्रै हेर्ने हो तर सेवा दिनेमा चिकित्सक र स्वास्थ्यकर्मीको टिम हो, अस्पतालले सहज र सरल तरिकाले सेवा दिन सक्ने वातावरण मिलाउने प्रयास गर्ने छु ।” उनले एक हप्तामा अस्पतालको वस्तुस्थितिको अध्ययन गरेर आवश्यक समन्वय अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
