
डोटी : सायल गाउँपालिका,डोटीको सहयोगमा म्युजिकल डकुमेन्ट्री लोक डेउडा गीत “सायलको चिनारी” बिहिवार सार्वजनिक भएको छ । नजर मिडिया प्रा.लि. डोटीको व्यवस्थापनमा गायक प्रेम नेपालीको लोक डेउडा गीत “सायलको चिनारी” प्रेम नेपाली अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
बिहीबार दिउँसो एक कार्यक्रमका बिच सायल गाउँपालिका, डोटीका अध्यक्ष एवं प्रमुख अतिथि धर्मराज जोशीले विमोचनको ब्यानर पढेर,गीतको भिडियो प्ले गरेर विमोचन गरेका थिए । उक्त गीत दिउँसोको १ बजे युट्युब मार्फत सार्वजनिक गरिएको नजर मिडिया प्रा.लि.का समाचार प्रमुख एवं गायक प्रेम नेपालीले बताए ।
विमोचन पश्चात् प्रतिक्रिया दिँदै पालिका अध्यक्ष जोशीले थोरै लगानीमा भए पनि “सायलको चिनारी” म्युजिकल डकुमेन्ट्रीले चित्रण गरेको हाम्रो रीतिरिवाज,चाडपर्व,यहाँको भेसभुसा,पर्यटन,कृषि लगायतलाई समेटेर तयार पारिएको कथा वस्तु प्रशंसनीय भएको भन्दै स्थानीय कला संस्कृति संरक्षण संवर्धनमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सायल गाउँपालिका भित्र रहेका मौलिक धार्मिक कला संस्कृतिको जगेर्ना गर्ने, कलाकारलाई प्रोत्साहन गर्ने लगायत कामहरू स्थानीय सरकारको दायित्वभित्र पर्ने भएकोले आगामी दिनमा पनि यस्तो खालका कार्यक्रम गर्नमा आफूले सक्दो सहयोग गर्ने अध्यक्ष जोशीले प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रेम नेपालीको शब्द, लय तथा स्वर रहेको उक्त गीतमा गायिका गौरी भट्टले स्वरमा साथ दिएकी छन् । विनोद बाजुरालीको एरेञ्जमा सागर बाजुरालीले रेकर्ड गरेको उक्त गीत खडक बाजुरालीले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका हुन् । मालश्री रेकर्डिङ्ग स्टुडियो काठमाण्डौमा तयार पारिएको गीतको सायल गाउँपालिका भित्र रहेका ६ वटै वडामा छायाङ्कन गरिएको थियो ।
भीम थापाको निर्देशनमा अमृत उपाध्यायले छायाङ्कन गरेको म्युजिकल डकुमेन्ट्रीमा टेक विष्ट, भीम थापा, अनु खड्का र साथीहरूको अभिनय रहेको छ । मेकअप बबिता बोहराले गरेकी छन् भने भिडियो सम्पादन, कलरिङ्ग तथा मिक्सिङ प्रवीण रेश्मी मगरले गरेका हुन् । खप्तड फिल्मस् को पोस्ट प्रोडक्सनमा भिडियो तयार गरिएको हो ।
#हेर्नुस् भिडियोमा
