
१२ साउन, डोटी । जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सागर बोहराले जिल्लामा शान्ति सुरक्षा कायम गर्नमा मुख्य चुनौतीको रुपमा लागु औषध र बिद्युतीय (साईवर) अपराध मुख्य चुनौती रहेको वताएका छन् ।
‘साईवर अपराधबाट लेखपढ गरेका, सरकारी सेवामा कार्यरत व्यक्तिहरु समेत पिडित भएका छन्’ उनले भने ‘सुरक्षा निकायमा कार्यरत व्यक्तिहरु समेत पिडित भएका छन् ।’ उनले सवैभन्दा बढी अनलाईन ठगीमा पर्ने गरेको वताए । उनी थप्छन् ‘कसैले लटरी प¥यो भनेर ठग्दैछन्, कसैले अनलाईन व्यापारको रुपमा ठग्दैछन्, कसैले बिदेशबाट धनी व्यक्तिले आर्थिक सहायता दिएको भनेर ठग्दैछन् ।’
साईवर अपराधबाट जोगिन सवैले चनाखो हुनु पर्ने वताउँछन प्रहरी नायव उपरीक्षक रणवहादुर चन्द । उनले भने ‘चिठ्ठा प¥यो भन्दैमा तुरुन्तै बिश्वास गरिहाल्नु भएन, आफ्नो व्यक्तिगत बिवरण कसैलाई पनि दिनु भएन ।’ कसैले पनि आफ्नो मोवाईलको स्क्रिन शेयर नगर्न, ओटिपी कसैलाई नदिन, अपरिचित व्यक्तिले भनेको कुरा तुरुन्तै बिश्वास नगर्न चन्द आग्रह गर्छन् ।
यस्तै लागु औषधको सेवनले किशोरकिशोरीहरुमा नकारात्मक असर परिरहेको प्रहरी उपरीक्षक बोहरा वताउँछन् । लागु औषधको सेवन गर्नेहरुको संख्या दिनदिनै बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । ‘अभिभावकहरुले आफ्ना छोराछोरीहरुको आनीबानीका बिषयमा सोधीखोजी गर्नु जरुरी छ’ उनले भने ‘यसलाई नियन्त्रण गर्न प्रहरीले मात्रै सक्दैन, सवै क्षेत्रबाट सहयोगको आवश्यकता छ ।’

एक बर्षमा २२ सय सवारी साधन कारवाहीमा
डोटी जिल्लामा यातायात नियमको उलंघन गर्ने दुई हजार दुई सय सात सवारी साधनहरु कारवाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०८२÷०८३ मा ट्राफिक व्यवस्थापन गर्ने क्रममा यातायात नियमको उलंघन गर्नेहरुलाई कारवाही गरिएको हो । कारवाहीमा परेका सवारी साधनबाट २० लाख ३४ हजार राजस्व संकलन भएको प्रमुख प्रहरी उपरीक्षक बोहराले जानकारी दिए ।
‘मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ५४ जनालाई कारबाही गरी २८ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ’ बोहराले भने ‘४४ जनामा लागू पदार्थ सेवन (लापसे) परीक्षण गरिएकोमा तीनले सेवन गरेको भेटिएकोले उनीहरुलाई पनि कारवाही भएको छ ।’
गत आर्थिक वर्षमा जिल्लामा ६१ वटा सवारी दुर्घटना भएका प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । ‘सवारी दुर्घटनामा परी एक सय १६ जना घाइते भएका छन्’ प्रहरी उपरीक्षक बोहरा भन्छन् ‘घाइतेमध्ये ३१ जना गम्भीर र ८५ जनाको अवस्था सामान्य छ ।
