
१३ साउन, डोटी। डोटीमा एक शिक्षकले आफ्नै श्रीमतीको चिम्टाले हानेर हत्या गरेका छन् ।
जिल्लाको जोरायल गाउँपालिका-४ देउथलाका चन्द्र बहादुर ओलीले बुधबार दिउँसो मदिरा सेवन गरी आफ्नो श्रीमती ४७ बर्षीया अमृता ओलीको पेटमा धारिलो चिम्टा प्रहार गरेका थिए । चिम्टा प्रहारबाट पेटको वाँया भागमा चोट लागी गम्भीर घाईते भएकी अमृतालाई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र चन्कट्टे लगिएको थियो। चन्कट्टेमा उपचार सम्भव नभएपछि थप उपचारका सेती प्रादेशिक अस्पताल, धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए।
चन्दका अनुसार अमृताको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रहरीले चन्द्र बहादुरलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। चन्द्रबहादुर स्थानीय जगदम्बा आधारभूत विद्यालयमा राहात कोटाका शिक्षक हुन् ।

