डोटीबाट बडीमालिका जाने “पेटारो” मा नयाँ परम्परा सुरु

२८ साउन, डोटी । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक धाम तथा पर्यटकीय गन्तव्य बडीमालिकाका लागि डोटीबाट जाने सरकारी पेटारो (पुगा सामग्री) मा नयाँ पुरम्पराको सुरुवात भएको छ ।
श्रावण शुक्ल चतुर्दशीका दिन बाजुराको बडीमालिकामा हुने पुजाका लागि प्रत्येक बर्ष डोटीबाट पेटारो जाने गर्दछ । पेटारोमा दिपायल दिल्पेश्वर क्षेत्रमा रहेको गुठीको खेतको भुरुडी (रोपाईको समयमा धानको पातबाट बनाईएको फुलडी) प्रमुख सामग्री मानिन्छ । बिगतमा उक्त भुरुडी दिल्पेश्वर मठका पिठाधिशले अघिल्लै दिन अर्थात् श्रावण कृष्ण औंशीका दिन जिल्ला प्रशासन कार्यालय, डोटीमा पु¥याउने चलन थियो ।
‘बिगतमा पिठाधिशले अघिल्लै दिन भुरुडी ल्याउने चलन थियो’ जिल्ला प्रशासन कार्यालयमा लामो समय काम गरी सेवानिबृत्त भएका तेजवहादुर खड्का भन्छन् ‘यस पटक अलि फरक गरेका रहेछन् ।’ यो राम्रो सुरुवात भएको उनको भनाई छ ।
यस पटक आजै (बिहिवार, मालिकाको लागि पेटारो प्रस्थान गर्ने दिन) दिल्पेश्वर मठबाट बाजागाजा सहित भुरुडी सिलगढी ल्याईएको दिपायल सिलगढी नगरपालिका–६ का वडाध्यक्ष नरेश मलासी वताउँछन् । ‘दिपायलबासीहरुले सिलगढीको ईन्द्रचोकसम्म बाजागाजा सहित भुरुडी ल्याउनु भयो, ईन्द्रचोकमा सिलगढी र आसपासका गाउँबासीहरु समेत सहभागी हुनु भयो’ मलासीले भने ‘हामीले उक्त भुरुडी बाजागाजा सहित जिल्ला प्रशासन कार्यालय पु¥याएका छौं ।’ यसले दिपायल र सिलगढीबासीबीच धार्मिक सद्भाव बढ्ने र धार्मिक पर्यटनको पनि विकास हुने मलासीको भनाई छ ।
डोटीबाट बडीमालिका पेटारो जाने चलन साविक डोटी गौडादेखिनै चलिआएको वताउँछन् शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष समेत रहेका शैलेश्वरीका पुजारी प्रेमशंकर भट्ट । उनी भन्छन्, ‘हरेक वर्ष पेटारोसहित सरकारी टोली बडीमालिका प्रस्थान गर्ने चलन छ । यो धार्मिक अनुष्ठान मात्र नभई यस क्षेत्रको इतिहास, संस्कृति र आस्थाको जीवन्त प्रमाण समेत भएको वताउँछन् । भट्टका अनुसार विसं १८४७ मा अमरसिंह थापाको नेतृत्वमा तत्कालीन डोटी राज्य नेपालमा गाभिएपछि पुष्कर शाहको पालादेखि डोटी गौडाको तर्फबाट बडीमालिकामा पेटारो पठाउने प्रचलन सुरु भएको थियो ।

Sayalb

कसरी तयार हुन्छ पेटारो ?
श्रावण कृष्ण चतुर्दशीका दिन दिपायलस्थित दिल्पेश्वर मठ क्षेत्रमा बडीमालिका गुठीको खेतमा रोपाइँ गरिन्छ । रोपाइँ गर्दा पिठाधिश र स्थानीयले धानको पातबाट एउटा फुल वनाउँछन् । स्थानीय भाषामा यसलाई भुरुडी वा फुलडी भन्ने गरिन्छ । उक्त भुरुडी जिल्ला प्रशासन कार्यालयमा ल्याईन्छ ।
जिल्ला प्रशासन कार्यालय र शैलेश्वरी मन्दिर व्यवस्थापन समितिले भुरुडीसंगै अन्य पुजा सामग्री तयार गर्छन् । पेटारोमा चाँदीको काइयो, चाँदीको छत्र, सुनको जलप लगाइएका गहनासहित श्रृंगार सामग्री, सुनकै जनै, चाँदीको बाँसुरीलगायतका सामग्री हुने गरेको पूजारी भट्ट वताउँछन् । उनी भन्छन् ‘ ‘२०५८÷०५९ सालसम्म पेटारोका लागि गृह मन्त्रालयबाट छुट्टै बजेट आउँथ्यो, तर पछि मन्त्रालयबाट बजेट आउन बन्द भयो । त्यसयता शैलेश्वरी मन्दिर व्यवस्थापन समितिले आफैं उक्त सामग्री जुटाउँदै आएको छ ।’
दिपायलबाट ल्याइएको भुरुणीसहित श्रावण प्रतिपदाका दिन बिहान जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीले पुजा गर्ने चलन छ । यसरी पुजा गरिसकेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संयुक्त रुपमा सलामी दिने चलन छ । त्यसपछि शैलेश्वरी मन्दिरमा पुजा गरी परिश्रमा गराईन्छ । पुजा पनि सुरक्षाकर्मीहरुको स्कटिङ्गमा पेटारो सिलगढी नाचन्थलीमा रहेको मालिका मन्दिर पु¥याई पुजा गरिन्छ । बडीमालिका मन्दिर जान खटिएको दुई सदस्यीय सरकारी टोलीलाई पेटारो जिम्मा लगाई बिदाई गरिन्छ ।

Shaileshwori
Bolpatra
Loading...