आफ्नो देशको सीमाबारे आवाज उठाउनु ‘भारत विरोधी राष्ट्रवाद’ होइन

नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट, २०२६’ मा दिएको “नेपाली राष्ट्रवादलाई भारत विरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको छ” भन्ने आशयको अभिव्यक्तिले नेपालको राजनीतिक वृत्तमा बहस सिर्जना गरेको छ । उनको यस अभिव्यक्तिले ‘के नेपाली राष्ट्रवादको इतिहास भारत विरोधी भावनाबाट निर्देशित थियो रु के आफ्नो देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानका पक्षमा आवाज उठाउनु भारत विरोधी हुनु हो रु अनि के आर्थिक विकास र छिमेकीसँगको सहकार्यका नाममा राष्ट्रिय सरोकारका विषयमा उठ्ने प्रश्नलाई पुरानो राजनीतिक सोचको संज्ञा दिन मिल्छ ?’ भन्ने प्रश्नहरू उब्जाएको छ ।
नेपालले भारतसँग ऐतिहासिक, सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध गाँस्दै आएको छ । खुला सीमा, पारिवारिक सम्बन्ध, व्यापार, रोजगारी तथा धार्मिक–सांस्कृतिक आदानप्रदानले दुई देशलाई निकट बनाएका छन् । भारत नेपालको महत्त्वपूर्ण विकास साझेदार पनि हो । त्यसैले छिमेकीसँग सहकार्य गर्नु नेपाल—भारत दुवैको आवश्यकता हो ।
तर, मित्रताको अर्थ एउटा मित्रले अर्को मित्रलाई प्रश्न नगर्नु होइन, सहकार्यको अर्थ राष्ट्रिय सरोकारका विषयमा मौन बस्नु पनि होइन । दुई देशबिचको मित्रता समानता र पारस्परिक सम्मानसँग सम्बन्धित हुन्छ । एकले अर्कोलाई आदेश गर्ने, होच्याउने, सीमा मिच्ने र अर्कोले चुपचाप सहेर बसिदिनु पर्ने सम्बन्धलाई मित्रवत् भन्न मिल्दैन । नेपाली राष्ट्रवादलाई भारत विरोधी भावनासँग मात्र जोड्नु नेपालको ऐतिहासिक यथार्थको एकाङ्की व्याख्या हो । राष्ट्रवादको मूल आधार आफ्नो स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्र निर्णय गर्ने अधिकारको रक्षा हो ।
भारतले आफ्नो कब्जामा राखेको विभिन्न स्थानको भू–भाग हामीले फिर्ता पाउनु पर्छ, नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्नु हुँदैन, हामी पनि भारत जस्तै स्वतन्त्र र सार्वभौम राष्ट्र हौँ भन्नुलाई ‘भारत विरोधी राष्ट्रवाद’ को रूपमा चित्रण गर्नु अर्थमन्त्रीको गम्भीर गल्ती हो । आफ्नो भूमि र सीमाका विषयमा आवाज उठाउनु कुनै देशप्रतिको घृणा होइन आफ्नो राष्ट्रियताप्रतिको प्रतिबद्धता हो । सीमा, सार्वभौमिकता, स्वाभिमान र समान सम्मानका लागि विगतमा भएको राजनीतिक प्रशिक्षणलाई भारत विरोधी राष्ट्रवाद मान्ने हो भने भारत पक्षीय राष्ट्रवाद कस्तो हुन्छ भन्ने प्रश्न पनि आउला नि !
नेपालले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकनको कुरा उठाउनु के भारत विरोधी राष्ट्रवाद हो ? दुई देशको आपसी व्यापारमा देखिएको असन्तुलनलाई मिलाउनु पर्छ भन्नु र यो वा त्यो बहानामा भारतले पटक पटक (घोषित अघोषित) नाकाबन्दी गरेर हैरानी दिनु हुँदैन भन्नु के भारत विरोधी राष्ट्रवाद हो ? यी विषयमा प्रश्न उठाउने नागरिक, राजनीतिक दल वा बौद्धिक समुदायलाई भारत विरोधी राष्ट्रवादको प्रतिनिधिका रूपमा चित्रण गर्नु लोकतान्त्रिक बहसलाई साँघुरो बनाउनु हो । असहमति र विरोधका विषयलाई तथ्य, प्रमाण र कूटनीतिक संवादका आधारमा सम्बोधन गरिनुपर्छ ।
औपचारिक कार्यक्रममा सहभागी भएका अर्थमन्त्री जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको अभिव्यक्तिले सरकारको दृष्टिकोणको समेत प्रतिनिधित्व गर्छ । यसले कतै केही समयअघि नेपालको सार्वभौम संसद्मा प्रधानमन्त्री बालचन्द्र शाहले “नेपालले पनि धेरै ठाउँमा भारतको सिमाना मिचेको रहेछ” भन्ने अभिव्यक्तिको निरन्तरता त हैन भन्ने सङ्केत समेत गर्छ ।
Sayalb
विगतका बर्सहरूमा पनि भारतलाई खुसी पार्न नेपाली शासकहरूले अनेकन् प्रयत्न गर्छन् भन्ने आरोपहरू बेला बेलामा लाग्दै आएका थिए, केही घटनाहरूले ती आरोपहरूमा सत्यतातर्फ समेत लैजान्छ । वर्तमान सरकारका प्रधानमन्त्री/मन्त्रीहरूले दिने अभिव्यक्तिहरूबाट पनि कतै भारतलाई खुसी पार्नलाई त होइन ? नेपालको एउटा दुर्भाग्य के हो भने  सत्ताधारीहरूले विपक्षीहरूलाई भारतबिरोधी देख्दै आएको छ । हुन सक्छ, अर्थमन्त्रीको अभिव्यक्ति वा केही समयअघिको प्रधानमन्त्रीको अभिव्यक्ति त्यसैको निरन्तरता होस् ।
सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिँदा ऐतिहासिक सन्दर्भ र राष्ट्रिय संवेदनशीलताप्रति सचेत हुनु आवश्यक छ । भारतसँग सम्बन्ध सुधार्ने नाममा नेपाली राष्ट्रवादलाई भारत विरोधी भावनाको पर्यायका रूपमा प्रस्तुत गरिएको हो भने त्यसको आलोचनात्मक परीक्षण हुनु स्वाभाविक छ । तर, भारतसँगको सम्बन्धलाई आर्थिक सहकार्य, विकास र पारस्परिक हितका आधारमा अघि बढाउनुपर्ने उनको तर्क आफैँमा अस्वाभाविक होइन । नेपालको भौतिक, सामाजिक र आर्थिक विकासमा भारतले गर्दै आएको सहयोगलाई पनि नेपालले अवमूल्यन गर्नु जरुरी छैन । भारतसँग भएको स्रोतको हामीले उच्चतम प्रयोग गर्न सक्नु पर्छ र भारतलाई एक स्वतन्त्र राष्ट्रका हैसियतमा आफ्नोतर्फबाट दिइने सम्मानमा कमी गर्नु हुँदैन ।
भारतसँगको हरेक असहमतिलाई विस्तारवादको आरोपमा सीमित गर्नु पनि समस्याको समाधान होइन । राष्ट्रिय हितको रक्षा भावनात्मक नाराले मात्र सम्भव हुँदैन । त्यसका लागि कूटनीति, स्पष्ट परराष्ट्र नीति र प्रभावकारी संवादका साथै आफ्नो समस्यालाई अन्तर्राष्ट्रियकरण गर्न सक्ने सामर्थ्य आवश्यक पर्छ । नेपालले भारतसँग न अनावश्यक वैमनस्य राख्न जरुरी छ, न त आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डताका विषयमा मौन बस्नु जरुरी छ ।
अन्ततः नेपालमा भारत विरोधी राष्ट्रवाद होइन, भारतसँग मित्रता कायम राख्दै आफ्नो राष्ट्रिय हितमा दृढ रहने आत्मसम्मानयुक्त राष्ट्रवाद आवश्यक छ । मित्रता समानतामा आधारित हुनुपर्छ, सहकार्य पारस्परिक हितमा आधारित हुनुपर्छ र कूटनीति राष्ट्रिय स्वाभिमानबाट निर्देशित हुनुपर्छ । कुनै पनि सरकारको सफलता छिमेकीलाई खुसी पार्न सक्ने क्षमताबाट होइन, आफ्नो देशको हितको रक्षा गर्दै छिमेकीसँग सम्मानजनक सम्बन्ध कायम गर्न सक्ने क्षमताबाट मापन गरिनुपर्छ ।
आफ्नो देशको सिमानाका विषयमा आवाज उठाउनु भारत विरोधी राष्ट्रवाद होइन त्यो नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने जिम्मेवारी हो । भारतसँग मित्रता चाहने नेपालीले नेपालको भूमि, स्वतन्त्रता र आत्मसम्मानको रक्षा पनि चाहन्छन् । यी दुई चाहना परस्पर विरोधी होइनन् । बरु, समानता र पारस्परिक सम्मानमा आधारित सुदृढ नेपाल–भारत सम्बन्धको वास्तविक आधार नै यही हो ।
लेखक रामहरि ओझा
Shaileshwori
Bolpatra
Loading...