गौतम बुद्ध कप टी-२० क्रिकेट : उपाधिका लागि राप्ती र नारायणी भिड्दै

डोटी: गौतम बुद्ध कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ।
चितवनको भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा उपाधिका लागि राप्ती र नारायणी भिड्ने भएका हुन्। यी दुवै टोली एक खेल अगावै फाइनल पुगेका हुन्।

यसअघि सोमबार भएको नारायणीविरुद्ध औपचारिक खेल खेलेको राप्तीले एक विकेटको रोमाञ्चक तथा संघर्षपूण जित निकालेको थियो। करन केसीको कप्तानीमा रहेको नारायणीले दिएको १३९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको राप्तीले एक बल बाँकी छँदा लक्ष्य पूरा गरेको थियो।
विनोद भण्डारीको नेतृत्वमा रहेको राप्तीले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमतीलाई पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने नारायणीले पनि पहिलो खेलमा बागमतीलाई नै पराजित गरेको थियो। लगातार दुई खेलमा पराजय भोगेको बागमती प्रतियोगिताबाट बाहिरिन बाध्य भएको थियो।
बागमती प्रदेश क्रिकेट संघको आयोजनमा मंसिर २७ देखि भएको प्रतियोगितामा तीन टोलीलाई मात्रै सहभागिता गराइएको थियो।
