
सिलगढी : डोटी जिल्लामा दुई हजार १ सय ७२ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पछि असार १ गते देखि साउन १९ गतेसम्म सङ्कलन गरिएको मतदाता नामावलीबाट उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् । हाल जिल्लामा जम्मा एक लाख २५ हजार सात सय २४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ ।
९ वटा पालिका रहेको जिल्लामा सबैभन्दा बढी मतदाता शिखर नगरपालिका र सबैभन्दा कम बडीकेदार गाउँपालिकामा रहेका छन् । शिखर नगरपालिकामा २१ हजार एक सय २५, दिपायल सिलगढी नगरपालिकामा १९ हजार एक सय ९६, आदर्श गाउँपालिकामा १४ हजार ८ सय ३५, जोरायल गाउँपालिकामा १३ हजार ५ सय ३९ र पुर्विचौकी गाउँपालिकामा १३ हजार दुई सय २४ मतदाता रहेका छन् ।
त्यस्तै के.आइ.सिंह गाउँपालिकामा १३ हजार एक सय ८९, सायल गाउँपालिकामा ११ हजार ५५, बोगटान फुड्सिल गाउँपालिकामा १० हजार एक सय ६६ र बडिकेदार गाउँपालिकामा ९ हजार तीन सय ९५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय डोटीले मङ्गलवार मतदाता नामावली अद्यावधिक कार्यक्रम, २०७९ सम्बन्धित सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । दाबी विरोधको समयमा भन्दा पनि अन्य समयमा थुप्रै गुनासाहरू आउने गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालय डोटीले भदौ १३ गतेदेखि १६ गतेसम्म दाबी बिरोधकोे समय निर्धारण गरेको छ । निर्वाचन कार्यालयले मतदाता नामावलीमा रहेको त्रृटी सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सो को दाबी विरोधमा उजुरी दिन, एक भन्दा बढी स्थानमा नाम समावेश भएको भए एक स्थानमा मात्र नाम कायम गर्न निवेदन दिन र वडामा नहुनु पर्ने नाम परेको भए उजुरी दिन भदौ १३ गतेदेखि १५ गते सम्मको समय तोकेको छ ।
त्यस्तै मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम हटाउन भदौ १३ देखि १६ गते सम्मको समय निर्धारण गरिएको छ । निर्धारित समयमा बाहेक अन्य समयमा गुनासाहरूको सम्बोधन नहुने बताइएको छ ।
