
मङ्सिर १९, डोटी
जिल्ला अस्पताल डोटीको आर्थिक वर्ष २०७९/०८० को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रोएक्टिभ मिडिया डेभलभमेन्ट एण्ड रिसर्च सेन्टरको सिलगढीको सहजिकरणमा मङ्गलवार अस्पतालको सामाजिक परीक्षण कार्यक्रम भएको हो ।
कार्यक्रमका सहभागीले जिल्ला अस्पतालले आफ्नो सेवा गुणस्तरीय र विस्तार गर्दै लगेपनि सर्वसाधारण सेवाग्राही सम्म सेवा सुविधाको जानकारी दिन नसकेको बताएका छन् । सरकारले दिने ९८ प्रकारका निःशुल्क औषधीहरू जिल्ला अस्पतालबाट केही औषधी नपाइने हुनाले त्यसको व्यवस्थापन हुनुपर्ने, अस्पतालको प्रशासनिक कार्यालय अपाङ्गमैत्री बनाउनुपर्ने, विशेषज्ञ डाक्टरको व्यवस्था हुनुपर्ने, शौचालयहरू सफा हुनुपर्ने लगायतमा सहभागीको जोड थियो ।
कार्यक्रममा उठेका प्रश्नहरू दुई तिन महिना भित्रै सम्बोधन गर्ने गरी काम गर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुजित कुमार मण्डलले बताएका छन् । अस्पतालले दिने एम्बुलेन्स सेवा र शव वाहन सेवा सहुलियत पूर्ण बनाउनुपर्ने सहभागीको मागमा डाक्टर मण्डलले अस्पतालको आयस्रोत कम भएकाले त्यस्तो गर्न नसकिने बताए । जसका लागि जिल्लाका स्थानीय सरकारहरूले आयस्रोत जुटाएमा अस्पताल प्रशासन सकारात्मक रहेको डाक्टर मण्डलको भनाइ छ ।

जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले जिल्ला अस्पतालले प्रदान गर्ने सेवाहरूमा सबैको पहुँचमा हुनुपर्ने बताए । जिल्ला अस्पतालमा उपचारको लागि आउने सेवाग्राही न्यून वर्गको हुने भएकाले उनीहरूले सहज रूपमा सेवा लिन सक्ने वातावरण निर्माण गर्नमा सबैले हातेमालो गर्नु पर्ने आवश्यकता रहेको प्रमुख सिंहले बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले जनशक्ति अभावकै कारण अस्पतालले विभिन्न समस्याहरू झेल्नु परेको बताए । अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकहरूलाई अस्पतालको गरिमा बढाउनेगरि काम गर्न अनुरोध गरेका छन् । त्यसरी काम गर्न नसक्नेले बाटो खुल्ला गर्नुपर्ने उनको भनाइ थियो ।
