
सुवास नेपाली, डोटी ।
खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा ४ जनालाई पक्राउ गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं २ मा पर्ने रानी ढुङ्गा मध्यवर्ती सामुदायिक वन क्षेत्रको हाँडे ढुङ्गाको खोलाको किनार बाट विभिन्न सामाग्री सहित पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन सरोज मणि पौडेलले जानकारी दिए ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा तिलाईलो जातको रुखको गाँठो काटेर अवैध रूपमा विक्री वितरण गर्ने कार्यमा संलग्न रहेको आशङ्कामा निजहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको वार्डेन पौडेलले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरूको साथ बाट सानो खालको पावर चैन सो, तिलाइलो रुखको फुरु (गाँठो) ९ थान, स्पिलिङ ब्याग ४ थान, वासुलो नाम गरेको ह्यामर १ थान, खाद्यान्नहरू, सलाई, लाइटर, पावर चैन सो को ब्लेड २ थान लगायत बन्दोबस्तकीका सामानहरू बरामद गरिएको पनि वार्डेन पौडेलले बताए ।
निकुञ्जमा नयाँ वार्डेन आए सँगै बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पर्ने निकुञ्जको मध्यवर्ती क्षेत्रमा तिलाईलो जातको रुखको गाँठो काटेर अवैध रूपमा विक्री वितरण गर्ने कार्यलाई निरुत्साहित गर्ने, निकुञ्जमा शून्य चोरी सिकारी कायम गर्ने, वनमा रातमा पाल टाँगेर बस्दा चितुवा, भालु, बँदेल लगायतका अन्य वन्यजन्तुहरूबाट मानिसको क्षति हुनबाट जोगाउने, फुरा (गाँठो) काट्ने निहुँमा हुने अन्य जडीबुटी तथा वन पैदावार चोरी सिकारी कार्य नियन्त्रण गर्ने, अवैध रूपमा जङ्गलमा पाल टाँगेर रात भरि बस्ने कार्यलाई पूर्ण रूपमा बन्द गरी खप्तड राष्ट्रिय निकुञ्जलाई पूर्ण रूपमा संरक्षित र व्यवस्थित गर्ने उद्देश्यलाई पूरा गर्न विभिन्न कार्य तीव्रता दिँदै आएको छ ।
