
असार २३, डोटी
जिल्ला अस्पताल डोटीमा आउने सेवाग्राहीको सङ्ख्या बढ्न थालेको छ । तीन आर्थिक वर्षमा सेवा लिनेहरूको सङ्ख्या हेर्दा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको छ ।
अस्पतालले दिएको तथ्याङ्कका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा २९ हजार नौ सय ४५ जनाले सेवा लिएका छन् । आर्थिक वर्षको बाँकी रहेको एक महिना असारमा यो सङ्ख्या बढ्ने अस्पतालले जनाएको छ । आर्थिक वर्ष २०७९/०८० मा जिल्ला अस्पताल डोटीबाट २५ हजार सात सय ६३ जनाले सेवा लिएका थिए भने २०७८/०७९ मा १४ हजार छ सय २८ जनाले सेवा लिएका थिए ।

अस्पतालले सेवा विस्तार गर्दै जाँदा सेवाग्राहीको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुजित कुमार मण्डलले बताए । २५ शय्याको अस्पतालमा चार जना विशेषज्ञ र नौ जना एमबिबिएस डाक्टर सहित ९३ जनाको सिङ्गो टिमले प्रभावकारी सेवा प्रवाह गरिरहेको मेसु डाक्टर मण्डलले बताएका छन् । कर्मचारी तथा भौतिक संरचनाको अभाव र सरकारी अस्पतालप्रतिको नकारात्मक दृष्टिकोणका बिच जिल्ला अस्पतालले सेवाग्राहीको मन जित्दै गएको मेसु मण्डलको भनाई छ ।
प्रदेश सरकारको लगानीमा निर्माण भएका दुई भवन अस्पताललाई हस्तान्तरण भएपछि अस्पताललाई ५० शय्यामा सञ्चालन गर्दै थप सेवा विस्तार गरिने मेसु मण्डलले जानकारी दिए । आगामी आर्थिक वर्षमा अस्पताललाई स्तरोन्नति गर्दै अर्थोपिडिक सर्जनबाट पनि सेवा प्रवाह गर्ने वातावरण मिलाउने कार्य भइरहेको उहाँको भनाई छ ।
