डा. केसीसँग वार्ता गर्न सरकारले गर्यो तिन सदस्सीय समिति गठन

सरकारले अनशनरत चिकित्सक प्रा. डा. गोविन्द केसीसँग वार्ताका लागि तिन सदस्सीय समिति गठन गरेको छ । शिक्षा मन्त्रीस्तरीय निर्णयबाट गठन भएको समितिको संयोजकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली रहेका छन भने समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा सदस्य रहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मङ्गलबारको सचिवालय बैठकमा प्रा. डा. केसीको जीवन रक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकार गम्भीर रहेको बताएका थिए । उनले वार्ताका लागि प्रक्रिया शुरु भइसकेको जनाएका थिए। बैठकले कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न प्रा. डा. केसीलाई आग्रह गरेको थियो । सरकारले प्रा. डा. केसीका अधिकांश माग पूरा भइसकेको जनाउँदै आएको छ ।
केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनमा रहेका छन् ।
