डोटीमा व्यावसायिक रूपमा गोब्रे च्याउको उत्पादन सुरु

माघ २२, डोटी । डोटीमा पहिलो पटक गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु भएको छ । दिपायल सिलगढी नगरपालिका–५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गरेका हुन् । उउले दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ को जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर च्याउ खेतीको थालनी गरेका छन् ।

कन्य च्याउ उत्पादन गर्दै आएका उनले कृषि ज्ञान केन्द्र डोटीको सहयोगमा गोब्रे च्याउको पनि खेती सुरु गरेका हुन् । शाहीले यो पटक दुई सय पोका च्याउ राखेका छन् । उनले गोब्रे च्याउको लागि आवश्यक पर्ने कम्पोस्ट हेटौँडाबाट ल्याएर मङ्सिर ३० गते च्याउ राखेको बताए । उनले भने, “प्रति किलो ५० रुपैयाँका दरले २० टन कम्पोस्ट खरिद गरेको हुँ, च्याउको बिउँ धनगढीबाट ल्याएको थिए । च्याउ उत्पादन सुरु हुन्जेल सम्म करिब दुई लाख रुपैयाँ लागत लागेको छ ।”

गोब्रे च्याउको खेती गर्न अन्य च्याउको भन्दा अलि बढी मिहिनेत लाग्ने शाहीले बताएका छन् । कृषि जेटिएको पढाई गरेका उनले गोब्रे च्याउको खेतीमा अलि बढी प्राविधिक ज्ञान चाहिने बताए । यो च्याउ खेतीको लागि कोठाको तापक्रम २२ देखि २५ डिग्री सेल्सियस सबैभन्दा उपयुक्त हुन्छ । पोका खोलिसकेपछि नियमित पानी दिने तथा तापक्रमको ख्याल गर्नु पर्छ । आजभोलि दैनिक चार देखि पाँच किलो च्याउ बिक्री भइरहेको र बजारको खोजीका लागि केही दिनमा बजारमा निस्किने उनले बताएका छन् । गोब्रे च्याउको मूल्य प्रति किलो चार सय रुपैयाँ रहेको छ ।

Sayalb

गोब्रे च्याउको खेतीका लागि कृषि ज्ञान केन्द्रले किसान शाहीलाई जम्मा लागतको ५० प्रतिशत सहयोग गरेको छ । गत वर्ष जोरायल गाउँपालिकाको राउतकट्टेमा सफल परीक्षण भएपछि चालु आर्थिक वर्षबाट गोब्रे च्याउ व्यावसायिक खेती सुरु गरिएको ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए । पौष्टिक तथा आर्थिक दृष्टिले निकै महत्त्वपूर्ण मानिने गोब्रे च्याउको खेती व्यावसायिक रूपमा विस्तार गर्ने उद्देश्यले किसान शाहीलाई सहयोग गरेको उनले बताए । निमित्त कार्यालय प्रमुख अवस्थिले भने, “गोब्रे च्याउ अन्य च्याउको तुलनामा पौष्टिक हुन्छ, टिपेको छोटो समयमा बिग्रिने डर हुँदैन । तरकारीको रूपमा खान मिल्नुका साथै होटेलमा बन्ने विभिन्न परिकारमा पनि प्रयोग हुन्छ जसले गर्दा किसानलाई आर्थिक रूपले बलियो बनाउँछ ।”

गोब्रे च्याउबाट मसरुम चिल्ली, मसरुम सुप, मसरुम पकौडा लगायतका परिकारका बन्ने गर्दछन् । अब जिल्लामै गोब्रे च्याउको उत्पादन सुरु भएपछि डोटीका होटेल तथा रेस्टुरेन्टमा खपत हुने अवस्थीको विश्वास रहेको छ । यो वर्ष ज्ञान केन्द्रले सिताके च्याउको पनि परीक्षण गरिरहेको र च्याउ खेती गर्ने किसानलाई दिइने सहयोगमा निरन्तरता दिइने उनले बताए ।

Shaileshwori
Loading...