
“श्रीमानको मृत्यु भएको १५ बर्ष भयो, चार छोराहरु पाल्नु पर्ने, हुर्काउनु पर्ने जिम्मेवारी मेरो काँधमा आयो, अनि ज्याला मजदुरी गर्न सुरु गरेँ । दुई बर्षदेखि अटो चलाउँदैछु ।”
ज्याला मजदुरी गरेर आफ्नो र परिवारको गुजरा चलाउदै आएकी ४० बर्षीया धनसरा आउजी अचेल सडकमा अटोरिक्सा गुडाउँछिन् । डोटीको दिपायल सिलगढी नगरपालिका—४, राजपुर भएकी धनसराले १५ बर्ष पहिले आफ्नो श्रीमान् गुमाईन् । श्रीमानको मृत्युपछि चार छोराहरु पाल्नकै लागि उनी ज्याला मजदुरी गर्न थालिन् । ‘महिला कामदार भनेपछि पुरुषको भन्दा ज्याला कम दिने, बोल्दा पनि होच्याएर बोल्ने गर्थे’ आफु ज्यालादारीमा काम गर्दाको क्षण सम्झिदै उनी भन्छिन् ‘सुरु सरुमा त महिला भनेपछि काममा लगाउनै मान्थेनन् ।’
ज्यालादारी कामबाटै धनसराले छारोहरुलाई हुर्काईन्, पढाईन् । निर्माण क्षेत्रमा ज्यालादारी गर्दागर्दै उनले मिस्त्रीको काम समेत अलिअलि सिकिन् । जसोतसो गुजारा गर्दै गईन् उनी ।
धनसराले आफ्नो बुवाको मुख समेत हेर्न पाईनन् । उनी आमाको गर्भमै हुँदा उनका बुवाको निधन भयो । ‘बुवाको निधन हुनुमा समाजले मेरो आमालाई दोषी देख्यो’ धनसरा भन्छिन् ‘समाजले आफ्नो श्रीमान्लाई टोक्ने महिला भनेर आरोप लगायो ।’ आमालाई गाउँमा बस्नै नसक्ने अवस्था भएपछि मामाको घरमा बस्न थालेको धनसराको भनाई छ ।
आमाले आफुलाई पिठ्यूमा बोक्दै गिट्टी कुटेर हुर्काएको सम्झिन्छन् उनी । आमाले दिनभरी गिट्टी कुटेर ५० रुपैया पाएपछि साँझको चुलो बल्थ्यो । आर्थिक अवस्था कमजोर भएकै कारण १३ बर्षकै उमेरमा बिवाह भयो धनसराको । भूमिहिन र आर्थिक अवस्था कमजोर भएको परिवारमा बिहे भएकी धनसराका श्रीमान् लगतै भारत जानु पर्ने अवस्था आयो ।
केही समयपछि उनी पनि श्रीमान्संगै भारत गईन् । चार छोराहरु जन्मिए, जीवन राम्रै चलेको थियो । ‘तर मेरो कर्ममा सुख लेखिएको रहेनछ’ धनसरा भन्छिन् ‘हामी भारतमै हुँदा श्रीमान्लाई निको नहुने रोग लाग्यो, त्यही रोगका कारण केही समयपछि उहाँकोे मत्यु भयो ।’ श्रीमान् गुमाएपछि अर्काको देशमा बसेर जीवन निर्वाह गर्ने आँट आएन धनसरालाई । उनी आफ्ना चार छोराहरु बोकेर स्वदेश फर्किईन् । तर कहाँ जानु ! घर पहिरोले पुरेको थियो । उनी आमासंगै मामाघरमा बस्न थालिन् ।
अव उनका अगाडि दैनिक ज्यालादारी गर्ने वाहेक अर्को बिकल्प रहेन । ‘दिनभरी काम गर्दा मैले दुई सय रुपैयाँ ज्याला पाउथे’ उनी भन्छिन् ‘मसंगै काम गर्ने पुरुषहरुले मेरा जस्तै काम गर्दा चार सय रुपैयाँ पाउथे ।’ आफुमाथी बिभेद भईरहेको त लाग्थ्यो धनसरालाई तर बिद्रोह गर्ने हिम्मत थिएन । केही बोलु भने ठेकेदारले कामबाट निकाली दिन्छ कि भन्ने डर थियो उनलाई । यदि ठेकेदारले कामबाट निकाल्यो भने आफुसंगै छोराछोरीहरुको पेट पनि भोको रहने चिन्ता थियो ।
‘काम गर्दागर्दै कुनै चोट पटक लाग्यो भने ठेकेदारले उपचार गराउँदैथे, आफै गर्नु पथ्र्यो’ धनसरा भन्छिन् ‘बरु काम नसक्ने भए घर जाउँ, आजको ज्याला पाईदैन भन्ने गर्थे ।’ उनी बिगतमा काम गर्ने क्रममा आफुहरुलाई कुनै सुरक्षाका साधनहरु नदिने गरेको वताउँछिन् । त्यसपछि धनसरा र अन्य महिलाहरुले अव सामुहिक रुपमा आवाज उठाउनु पर्छ भन्दै छलफल गरे । जिल्लामा रहेका निर्माण व्यवसायी र निर्माण व्यवसायी संघ, ट्रेड युनियन, जिल्ला प्रशासन, दिपायल सिलगढी नगरपालिका, प्रहरी कार्यालय जस्ता सरोकारवाला निकायहरुमा श्रमिक महिलाहरुले समन्वय र सहकार्य गर्न थाले ।
श्रमितहरुको बिमा गर्नु पर्ने, निर्माण कार्य गर्दा सुरक्षाका सामग्रीहरुको व्यवस्था हुनु पर्ने, काम गर्दागर्दै चोट लागेपछि उपचार गराउनु पर्ने लगायतका मागहरु राख्दै आफुहरुले जिल्ला प्रशासन कार्यालयलाई समेत ज्ञापन पत्र बुझाएको धनसराको भनाई छ । ‘एक्सन एड र सम विकास केन्द्रको सहयोगमा हामीहरुले समूह र श्रमिकहरुको सहकारी समेत गठन ग¥यौंं’ धनसरा भन्छिन् ‘हामीले सम्बन्धित निकायको ध्यानाकर्षण गर्न ¥याली, जुलुस गर्ने कार्य पनि ग¥यौं ।’ उक्त अभियानको नेतृत्व धनसरा स्वयं गर्न थालिन् ।

फेरीयो धनसराको पेशा
ज्याला मजदुरी गरि जीवन निर्वाह गरिरहेकी धनसराको पेशा फेरिएको छ । अव उनी अटो चालक भएकी छन् ।
समूहमा छलफल गर्ने क्रममा उनलाई बैकल्पिक पेशा गर्ने सोच पलायो । लामो समयदेखि मजदुरी गर्दै आएकी उनलाई नयाँ केही गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । उनका लागि सोचे जस्तै भईदियो । सम विकास केन्द्र डोटीले महिलाहरुलाई अटो चालक तालिम दिने कार्यक्रम वनायो । धनसरा पनि त्यस तालिमका लागि छानिईन् । तालिमपछि सम विकास केन्द्र र दिपायल सिलगढी नगरपालिकाको सहयोगमा उनले अटो पनि पाईन् ।
हाल उनी अटो गुडाउँदै गरेको भेटिन्छन् । ‘दिनभरीमा करीव दुई हजार रुपैयाँ बच्छ, यसले घरधन्दा चलेको छ’ धनसरा भन्छिन् ‘चार छोराहरु, आमा र म यसै कमाईबाट गुजरा गरिरहेका छौं ।’ उनी पिपल्ला बजारदेखि दिपायल एयरपोर्ट र राजपुरसम्म अटो चलाउँछिन् ।
सुरुसुरुमा धनसरालाई अटो चलाउन डर लाग्थ्यो, कतावाट आएको कुन गाडीले ठोक्ने हो भन्ने सोच्थिन् । तर अव भने बिस्तारै बानिपरिसकेको छ ।
आफुले ज्यालादारी काम गर्दा भोगेका समस्याहरु सम्झे अहिले पनि जीउ सिरिङ्ग हुन्छ धनसराको । उनी श्रमिकहरुले पनि सम्मान पाउनु पर्ने वताउँछिन् । ‘कम्तीमा मदजुरहरुको पनि विमाको व्यवस्था गरिनु पर्छ, काम गर्ने क्रममा कुनै चोट पटक लाग्यो भने काममा लगाउने मान्छेले उपचार गरिदिनु पर्छ’ उनी भन्छिन् ‘कार्यस्थलमा पुरुषहरुले प्रयोग गर्ने भाषा शव्दहरु पनि मर्यादित हुनु पर्छ ।
श्रमिकहरुलाई कानुनी व्यवस्था र उनीहरुको अधिकारको बिषयमा आफुहरुले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको वताउँछन् सम विकास केन्द्र डोटीका कार्यक्रम संयोजक नरेन्द्र बिक । उनले भने ‘हामीले श्रमिक महिलाहरुलाई समूहमा आवद्ध गरेर उनीहरुका हक अधिकारको बिषयमा जानकारी दिएका छौं, श्रमिकहरुको अवस्थाको बिषयमा स्थानीय तहहरुबाट अनुगमन समेत गराएका छौं ।’ बिगतको भन्दा हाल श्रमिकहरुमाथी हुने बिभेद कम भएको बिक वताउँछन् ।
