डोटीमा बाल सुधार गृहलाई खेलकुद तथा स्टेशनरी सामग्री हस्तान्तरण

तेजु ओली, डोटी । सामुदायिक विकास केन्द्र (CDC) डोटीले सेभ द चिल्ड्रेन को सहयोगमा डोटीमा रहेको बाल सुधार गृहलाई विभिन्न स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ। संस्थाले बालबालिकाको शैक्षिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री उपलब्ध गराएको जनाएको छ।
हस्तान्तरण गरिएका सामग्रीहरूमा भलिबल २ थान, फुटबल २ थान, ब्याडमिन्टन सेट २, कर्क (शटलकक) २ सेट, क्रिकेट सेट १, क्यारम बोर्ड १ सेट, कपी २० दर्जन, पेन २० दर्जन, पेन्सिल २० दर्जन, सर्पेनर २० प्याकेट, इरेजर २० प्याकेट र कलर बक्स २० सेट रहेका छन्। उक्त सामग्रीको कुल मूल्य ४९ हजार १८० रुपैयाँ रहेको छ।
Sayalb
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि यस्ता सामग्री अत्यन्त आवश्यक हुने बताउनुभयो। उहाँले हाल एसइईको पूर्व तयारी तथा अन्य कक्षाका परीक्षाहरू सञ्चालन भइरहेका बेला स्टेशनरी सामग्रीले अध्ययनमा ठुलो सहयोग पुग्ने उल्लेख गर्नुभयो। साथै, इनडोर तथा आउटडोर खेल सामग्रीले बालबालिकाको मानसिक र शारीरिक सबलतामा महत्त्वपूर्ण योगदान गर्ने बताउनुभयो।
त्यस्तै, दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्काले बालबालिकाका लागि खेलमैदान विस्तार तथा खुला स्थानको व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो। सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक हेमराज जोशीले संस्थाले लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यस्ता सामग्री हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले सामग्रीको सदुपयोग तथा संरक्षण भएमा आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
बाल सुधार गृहकी कार्यालय प्रमुख सानुमाया लिम्बुले सहयोग गर्ने संस्था तथा साझेदार निकायप्रति धन्यवाद व्यक्त गर्नुभयो। २५ जना क्षमता रहेको उक्त बाल सुधार गृहमा हाल क्षमता भन्दा बढी बालबालिका राखिएको छ।
Shaileshwori
Loading...