
३० पुष, डाेटी

सुदूरपश्चिम प्रदेशभित्र रहेको एक हजार एक सय ७६ मतदान स्थलमध्ये चार सय ८१ अति संवेदनशील रहेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रयोजनका लागी निर्वाचन सुरक्षाका दृष्टिले मतदान स्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तिन भागमा राखिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयले दिएको जानकारी अनुसार करीव ४१ प्रतिशत मतदान स्थलहरु अति संवेदनशील मानिएका छन् । यस्तै, संवेदनशील मतदान स्थलहरु तीन सय ९५ अर्थात् ३३.५८ प्रतिशत रहेका छन् भने बाँकी तीन सय अर्थात् २५.५१ प्रतिशत मतदान स्थलहरु सामान्यमा राखिएको छ ।
कैलाली जिल्लामा सवैभन्दा बढी एक सय आठ मदान स्थलहरु अति संवेदनशील मानिएका छन् । दुई सय ३७ मतदान स्थल रहेको यस जिल्लामा एक सय ६ स्थललाई संवेदनशील मानिएको छ । सामान्य अवस्थाका मतदान स्थलहरु २३ रहेका छन् ।
कञ्चनपुर जिल्लाका एक सय ३२ मतदान स्थलहरुमध्ये ६६ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । यस जिल्लाका ४० स्थलहरु संवेदनशी र २६ स्थलहरु सामान्य मानिएका छन् । डोटी जिल्लाका १३ मतदान स्थलहरुलाई अति संवेदनशील मानिएको छ । एक सय १८ मतदान स्थल रहेको जिल्लामा ४४ स्थल संवेदनशील र ८१ स्थललाई सामान्य रुपमा मानिएको प्रदेश प्रहरी कार्यालयले उपलव्ध गराएको बिवरणमा उल्लेख छ ।
निर्वाचन सुरक्षाको दृष्टिले अछाम जिल्लाका ६६ मतदान स्थलहरु अति संवेदनशीलको सूचीमा परेका छन् । यस जिल्लामा एक सय ३० स्थल रहेकामा ५० संवेदनशी र १४ लाई सामान्य मानिएको छ । डडेल्धुरा जिल्लाका एक सय चार मतदान स्थलहरुमध्ये ३३ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । यस जिल्लामा ३४ स्थललाई संवेदनशील र ३७ स्थललाई सामान्य मानिएको छ ।
दार्चुला जिल्लाका १५ मतदान स्थल अति संवेदनशील मानिएका छन् । यस जिल्लामा जम्मा एक सय १२ मतदान स्थल रहेका छन् । यसमध्ये ३२ लाई संवेदनशील र ६५ लाई सामान्य मतदान स्थलको सूचीमा राखिएको छ । एक सय २९ मतदान स्थल रहेको बैतडी जिल्लाका ३३ स्थलहरुलाई अति संवेदनशील मतदान स्थलको सूचीमा राखिएको छ । यस जिल्लामा २८ संवेदनशील मतदान स्थल मानिएका छन् भने बाँकी ६८ लाई समान्यको सूचीमा राखिएको छ ।
प्रतिशतका हिसावले सवैभन्दा बढी अति संवेदनशील मतदान स्थलहरु बाजुरामा देखिएका छन् । यस जिल्लामा सामान्य अवस्थाको मतदान स्थल तीन मात्रै रहेका छन् । जिल्लामा रहेका जम्मा ७७ मतदान स्थलमध्ये ६२ मतदान स्थलहरु अति संवेदनशील स्थलको सूचीमा राखिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ, जुन ८०.५१ प्रतिशत हुन आउँछ । यस जिल्लामा संवेदनशील मतदान स्थल १२ रहेका छन् ।
यस्तै, बझाङमा तीन सामान्य मतदान स्थल तीन मात्रै रहेका छन् । यस जिल्लामा रहेका एक सय ३७ मतदान स्थलमध्ये ६२ प्रतिशत अर्थात् ८५ मतदान स्थलहरु अति संवेदनशील रहेका छन् । जिल्लाका १२ मतदान स्थलहरुलाई संवेदनशीलको सूचीमा राखिएको छ ।
