
२० माघ, डोटी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि डोटीमा पुराना र नयाँ अनुहारबीच प्रतिस्पर्धा भईरहेको छ ।
बिगतका निर्वाचन कांग्रेस, एमाले र तत्कालीन नेकपा माओवादी मुख्य प्रतिस्पर्धी हुने डोटीमा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौती दिईरहेको छ । नेपाली कांग्रेसले पाका नेता भरतवहादुर खड्कालाई चुनावी मैदानमा उतारेको छ । ६८ बर्षीय खड्का पञ्चायतदेखि गणतन्त्रसम्म जनप्रतिनिधि हुँदै आएका छन् । २०३९ सालमा गाउँ पञ्चायत प्रधान भएका खड्का २०४४ सालमा जिल्ला पञ्चायत सभापति, २०४९ सालमा जिल्ला विकास समिति उपसभापति र २०५४ सालमा सभापति पनि भए । उनी २०७० सालमा संविधान सभा सदस्य र २०७४ सालमा सुदूरपश्चिम प्रदेश सभा सदस्य हुन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि पुरानै अनुहार दोहो¥याएको छ । नेकपाले सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार वनाएको छ । माओवादी सशस्त्र बिद्रोहको क्रममा भूमिगत राजनीतिमा सक्रिय ५६ बर्षीय भट्ट २०६४ सालको पहिलो संबिधान सभा सदस्य निर्वाचनमा डोटी जिल्ला निर्वाचन क्षेत्र–१ बाट उम्मेवार थिए । २०७० सालको निर्वाचनमा उनी क्षेत्र–२ बाट उम्मेदवार वने । ति दुवै निर्वाचनमा भट्टलाई तेश्रो स्थान हासिल भयो ।
नेकपा एमाले र नेकपा माओवादीबीच भएको चुनावी गठवन्धनले भट्टलाई २०७४ सालको प्रदेश सभा निर्वाचनमा सफलता दियो । त्यसपछि उनी पाँच बर्षसम्म लगातार मुख्यमन्त्री भए ।
२०५१ सालको निर्वाचनदेखि डोटीमा मुख्य प्रतिस्पर्धीको रुपमा रहेको नेकपा एमालेले नयाँ अनुहार अघि सारेको छ । एमाले निकट अनेरास्वबियुका केन्द्रीय अध्यक्ष समेत रहेका ३२ बर्षीय युवा दिपक धामी चुनावी मैदानमा छन् । १३ बर्षकै उमेरमा बिद्यार्थी राजनीति सुरु गरेका धामीलाई क्याम्पस स्वबियु सभापति भएको अनुभव त छ तर संसदीय चुनावका लागि नयाँ अनुहार हुन् ।
पुराना तीन दललाई चुनौती दिन राष्ट्रिय स्वतन्त्र पार्टीले नरेन्द्रवहादुर खड्कालाई प्रतिस्पर्धामा उतारेको छ । उद्योग वाणिज्य क्षेत्रमा सक्रिय खड्का यसअघि २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए । खड्काले ६ हजार ६८९ मत पाएका थिए । खड्का सुदूरपश्चिम प्रदेशको राजधानी डोटी हुनु पर्ने भन्दै २०७४ सालमा भएको नागरिक आन्दोलनका संयोजक थिए ।
खड्काद्वय, धामी र भट्टसंगै अन्य पाँच जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । एकमात्र प्रतिनिधि सभा क्षेत्र रहेको डोटीमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खडक बहादुर अग्रवाल, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) बाट प्रकाश कठायत, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही र मितेरी पार्टी नेपालबाट सरस्वती कुमारी पाल (मल्ल) चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तो छ बिगत तीन निर्वाचनको नतिजा
२०४६ सालको राजनीतिक परिवर्तनपछि भएको पहिलो प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा आफ्नो कव्जा जमायो । त्यसपछिका दुई निर्वाचन २०५१ र २०५६ मा पनि दुवै क्षेत्रमा सानदार जीत हात पारेको कांग्रेस २०६४ सालको निर्वाचनमा भने “रिङ्आउट” भयो । सो निर्वाचनमा जिल्लाका दुवै क्षेत्रमा कम्युनिष्टहरुले बाजी मारे । निर्वाचन क्षेत्र–१ मा एमालेका उम्मेदवार हर्कवहादुर सिंह र क्षेत्र–२ मा नेकपा माओवादीका उम्मेदवार खेम बम बिजयी भए । क्षेत्र–१ का कांग्रेस दोश्रो भयो भने २ का तेश्रो स्थानमा समेटियो ।
२०७० सालको निर्वाचनमा क्षेत्र–१ मा कांग्रेस ‘कमव्याक’ हुन सक्यो तर २ मा फेरी पनि पछाडि प¥यो । नयाँ संविधानपछि प्रतिनिधि सभाका लागि जिल्लाबाट एक मात्र प्रतिनिधि सभा सदस्य सिट कायम भयो । त्यसपछि भएका दुई निर्वाचनमा कांग्रेसले जित्न सकेन । २०७४ सालमा बाम गठवन्धन हुँदा चुनाव हार्नु प¥यो भने २०७९ मा बाम–लोकतान्त्रिक गठवन्धन हुँदा कांग्रेसले आफ्नो उम्मेदवारै उठाउन पाएन ।
प्रतिनिधि सभा मात्रै होईन् प्रदेश सभामा पनि कांग्रेसको उपस्थिति फितलो भयो । २०७४ मा प्रदेश सभाका दुई सिटमध्ये एउटामा जितेको कांग्रेसले २०७९ मा दुवै सिट गुमाउनु प¥यो ।
यस्तो छ बिगतको समानुपातिक मत परिणाम
२०७० साल निर्वाचनमा कांग्रेसले डोटी जिल्लाबाट समानुपातिकतर्फ २८ हजार ३५ मत पाउँदा नेकपा एमालेले १९ हजार ६०४ मत पाएको थियो । तेश्रो प्रतिस्पर्धी तत्कालीन एनेकपा माओवादीले ७ हजार ९६८ मै चित्त बुझाउनु परेको थियो ।
२०७४ सालको निर्वाचनमा पनि समानुपातिक मत संख्याको आधारमा कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले २८ हजार १०४ मत प्राप्त गर्दा एमाले २५ हजार ४८४ मत पाई दोश्रो भयो । माओवादी ५ हजार २६९ मतमै चित्त बुझाउनु परेको थियो ।
२०७९ सालको निर्वाचनमा कांग्रेसले २२ हजार ५१६ मत पाउँदा एमालेले २२ हजार ४५६ मत पाएको छ । माओवादी ६ हजार ९२४ मत पाएको छ । यस निर्वाचनमा एमाले बिभाजनपछि वनेको नेकपा एकिकृत समाजवादीले २ हजार ३७३ मत पाएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार २४८ मत ल्याएको थियो ।

