डिभिजन वन कार्यालय डोटी वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी पूर्व तयारी गर्दै

फागुन ९, डोटी । डिभिजन वन कार्यालय डोटीले सञ्चारकर्मीसँग वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी पूर्व तयारी बैठक गरेको छ । आगलागीको समय नजिकिँदै जाँदा आगलागीका घटना नियन्त्रण तथा नियमन गर्न कार्यालयले बनाएको योजनाका बारेमा जानकारी गराउन तथा सुझाव सङ्कलन गर्ने उद्देश्यले शनिवार पुर्वतयारी बैठक बसेको हो ।

Sayalb

जिल्ला विपद् व्यवस्थापन समिति डोटीको बैठकबाट जिल्ला स्तरीय वन डढेलो नियन्त्रण तथा रोकथाम कार्य योजना २०८२ स्वीकृत पश्चात् सञ्चारकर्मीसँग बैठक बसिएको डोटीका डिभिजनल वन अधिकृत गोकुल रिजालले बताए । वन डढेलो नियन्त्रण तथा रोकथाम राष्ट्रिय कार्य योजना २०८२ लाई आधार मानी डिभिजन वन कार्यालय डोटीले विभिन्न सुरक्षा निकाय र सम्बद्ध सरोकारवालाहरूको राय सुझाव समेतका आधारमा जिल्ला स्तरीय कार्य योजना बनाएको रिजालले बताए ।

बैठकमा डिभिजन वन कार्यालयका वन अधिकृत गोपीकृष्ण जोशीले जिल्ला स्तरीय वन डढेलो नियन्त्रण तथा रोकथाम कार्य योजनाको उद्देश्य, रणनीतिहरू, रोकथामका उपायहरू, लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । सम्बन्ध निकायका बिचमा समन्वय र सहकार्य गरी आगलागीको प्रकृति, खतरा स्तर, भौगोलिक विकटता अनुसार कार्य विभाजन गरेर डढेलो नियन्त्रण गर्ने, अग्नि नियन्त्रण उपकरण एवं राहतका सामग्री र तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राख्ने, वन डढेलो नियन्त्रणका लागि वन दस्ता गठन तथा परिचालन गर्ने, हेराला, क्यामेरा, स्याटलाइट, ड्रोन आदीबाट वन क्षेत्रको अनुगमन तथा निगरानी गर्ने र सरोकारवालासँग विपद् व्यवस्थापनका सम्बन्ध समन्वय बैठक राख्ने लगायतका योजना बनाइएको बैठकमा बताइएको थियो । बैठकमा सहभागी पत्रकारहरूले विभिन्न सुझाव तथा जिज्ञासा राखेका थिए ।

Shaileshwori
Loading...