डोटीमा निर्वाचनका लागि खटिए १०७९ कर्मचारी

Sayalb

१३ फागुन, डोटी । २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनला लागि डोटीमा एक हजार ७९ कर्मचारी मतदान स्थलमा खटिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, डोटीले आयोजना गरेको “निर्वाचन र आमसञ्चार” बिषयक अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले दिएको जानकारी अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीहरुलाई मतदान स्थलमा खटाइसकिएको छ । “जिल्लामा एक अस्थायी सहित एक सय ८१ मतदान केन्द्र रहेका छन्” मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पाण्डेले भने ‘प्रत्येक मतदान स्थलमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, ३ सय भन्दा माथि मतदाता भएका केन्द्रमा तीन र ३ सयभन्दा कम मतदाता भएका केन्द्रमा दुई सहायक कर्मचारी र प्रत्येक केन्द्रमा एक सहयोगी कर्मचारी खटाइएको छ ।’ जिल्लामा ३ सयभन्दा कम मतदाता भएका ७ केन्द्र रहेका पाण्डेले बताए ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि बिहिबार र शुक्रबार तालिम आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी करुणाकर पन्तले जानकारी दिए। उनले मतपत्र र मतदान केन्द्रमा चाहिने सबै सामग्री जिल्लामा पुगिसकेको बताए ।
निर्वाचन शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षा योजना बनाई कार्यान्वयन भईरहेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन् । उनले निर्वाचन भयरहित रुपमा सम्पन्न गर्न सबैलाई आग्रह गरिन्।

Shaileshwori
Loading...