
फागुन २३, डोटी । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटी जिल्लामा नेपाली काँग्रेसका उम्मेदवार भरत बहादुर खड्का निर्वाचित भएका छन् । १४ हजार ८९७ मत प्राप्त गरी खड्का निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पदम राज पाण्डेयले जानकारी दिए । ६८ वर्षका खड्का प्रतिस्पर्धी भन्दा ७८७ मतान्तरको विजयी भएका हुन् ।
खड्काका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दीपक बहादुर धामीले १४ हजार ११० मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २७० मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार त्रिलोचन भट्टले ५ हजार ४१३ मत पाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का खडक बहादुर अग्रवालले ५९४, राष्ट्रिय जनमोर्चाका मणिराज(मनोज) भट्टले ४१७, नेपाल कम्युनिस्ट पार्टी(माओवादी) का प्रकाश कठायतले ३९२, मितेरी पार्टी नेपालकी सरस्वती कुमारी पाल(मल्ल) ले ४३ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खगेन्द्र बहादुर शाहीले ३२ मत प्राप्त गरेका छन् । डोटीमा २९७४ मत बदर भएको छ । बदर भएको मत कुल खसेको मतको ५ दशमलव ७० प्रतिशत हो ।
यस निर्वाचन क्षेत्रमा जम्मा एक लाख २८ हजार ३९९ मतदाता रहेकोमा ४० दशमलव ६१ प्रतिशत अर्थात् ५२ हजार १४२ मत खसेको थियो ।
