चाटुकारहरु (कविता)

कविता
शीर्षक : चाटुकारहरु
यी भत्किएका सडकहरुमा
उप्किएका खाल्डाखुल्डीहरुमा
चुनावको छेउछाउताका
वाक चाटुकताको गिट्टीमा
झुटको बालुवा र सिमेन्ट मुच्छ्दै
भ्रमको अलकत्रा छर्केर
भाषणमा पिच गर्नेहरु ,
आउँछन् जान्छन्
फेरि आउँछन् जान्छन् ,
उनीहरुको जीवनको
रङ्ग फेरिएर आउँछ
बोल्ने अनि बाँच्ने
ढङ्ग फेरिएर आउँछ
तर
यो विचरो सडकको
कहिल्यै सडक बन्न नसकेको
सडक देखि सडकसम्मको
दर्दनाक व्यथा उस्तै छ
दुखान्त कथा उस्तै छ !

यी बन्जर अस्पतालहरुमा
चुनावको छेउछाउ ताका
आश्वासनका सैयाहरु बोकेर
वाक चाटुकताको सिरिन्जमा
डाक्टर अनि नर्सको घोल हाल्दै
भाषणमा एक्सरे गरेर
आश्वासनमा सर्जरी गर्नेहरु
आउँछन् जान्छन्
फेरि आउँछन् जान्छन्
उनीहरुको साइकल
पजेरोमा फेरिएर आउँछ
उनीहरुको झुप्रो
महलमा फेरिएर आउँछ
तर
यो विचरा अस्पतालमा
न स्वास्थ्य कार्यकर्ता छ
न औषधीको मात्रा छ
र त
अस्पतालका मुर्दा घरहरुबाट
कतिपय आसहरु
लास बनेर निस्कन्छन्
अनि
कतिपय जिजीविषाहरु
त्रास बनेर निस्कन्छन् !
यी खण्डहर बनेका स्कुलहरु
जहाँ
धेरैका अधुरा सपनाहरु
अनन्त देखि अनन्तसम्म
अभिच्छिन्न पुरिएका छन्
तिनै सपनाका चिहानहरुमाथि
चुनावको छेउछाउताका
बेढङ्गसँग उभिएर
अजङ्गसँग कुर्लनेहरु
आश्वासनका दरबन्दीहरु थपेर
शब्दहरुमा नयाँ कोटा थप्छन् ,
वाक चाटुकतामा जीवनोपयोगी अनि निस्शुल्क शिक्षा दिएर
झुठको शिक्षा अनिवार्य गर्नेहरु
आउँछन् जान्छन्
फेरि आउँछन् जान्छन
तर
शिक्षक भए विद्यार्थी नहुने
विद्यार्थी भए शिक्षक नहुने
अभाव , तिरस्कार अनि उपेक्षाको
यो भग्न , रुग्ण स्कुलको पुरानो कथा
उस्तै छ केवल उस्तै छ !
गोरेटो दोबाटोमा
चोक चौबाटोमा
प्रवीण कलाकारले झैं
उम्दा अभिनय गरेर
सम्मोहित भोटब्याङ्कको
यन्त्रवत ताली पट्ट फुट्दा
झनै उत्साहित बनेका झुठ शिरोमणिहरु
यी अभावग्रस्त गाउँलाई
आश्वासनका असङ्ख्य पोकाहरु
बाँड्छन् अनि बाँडिनै रहन्छन् ,
कतै नाना बाँडिन्छ
कतै खाना बाँडिन्छ ,
कतै रोजगारी
अनि
कतै स्वरोजगार बाँडिन्छ ,
सुशासन त कति कति
कतै सदाचार
अनि
कतै शिष्टता बाँडिन्छ ,
बाँड्नेहरु
आउँछन् जान्छन्
फेरि आउँछन् जान्छन्
उनीहरुको सबै थोक फेरिन्छ
तर यथार्थमा
कहिल्यै नफेरिने
यी अभागी गाउँहरु
आफै भित्र अभिषप्त छन्
मानसिक रोगी झैं !
लेखक : हिक्मत शाही
ठेगाना : सिलगढी डोटी
