गौतमबुद्ध टी-२० क्रिकेट : बागमतीविरुद्ध नारायणीको रोमाञ्चक जित

काठमाडौं: गौतमबुद्ध टी–२० क्रिकेटको उद्घाटन खेलमा बागमतीविरुद्ध नारायणीले रोमाञ्चक जीत निकालेको छ। सुवास खकुरेलको कप्तानीमा रहेको नारायणीले बागमतीमाथि सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको हो। चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११७ रन बनाएको थियो।

सुपर ओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको वाग्मतीले २० रन मात्रै बनाउन सक्यो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको नारायणीले करण केसीको लगातार ३ वटा छक्काको मद्दतमा २५ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएका ज्ञानेन्द्र मल्लले ३ वटा छक्का हान्दै वाग्मतीलाई जितको आशा देखाए पनि सम्भव हुन सकेन ।
यसअघि वाग्मतीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नारायणले २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । नारायणीका आरिफ शेखले सर्वाधिक ४४ रन बनाए । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय मैदान चितवनमा पहिले ब्याटिङ गरेको वाग्मतीले ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।
पराजित बागमतीले अब भोली विनोद भण्डारीको कप्तानीमा रहेको राप्तिसँग प्रतिस्पर्धा गर्नेछ।
