बझाङका १२ वटै स्थानीय तहका शिक्षा शाखामा ई लाइब्रेरी जडान गरिदै

शिवजी मण्डेल/बझाङ
जिल्लाका १२ वटै स्थानीय तहका शिक्षा शाखामा ई लाइब्रेरी जडान गरिने भएको छ । गैरसरकारी संस्था (डब्लूयाफपी) को सहयोगमा साझा शिक्षा ई पाटी नामक संस्थाले उक्त ईलाइब्रेरी जडान गर्न लागेको हो । सम्पूर्ण विद्यालयहरूमा ई लाइब्रेरी जडान गर्न कठिन भएकोले बझाङका १२ वटै स्थानीय तहका शिक्षा शाखामा ईलाइब्रेरी जडान गरिएको शिक्षा मन्त्रालय अन्तर्गतका निकाय सँग विगत १२ वर्षदेखि कामगरी रहेको संस्था साझा शिक्षा ई पाटीका सिनियर मेनेजर टिकाराज कार्कीले चैत ३ गते मंगलबार थलारा गाउँपालिकाको शिक्षा शाखामा ई लाइब्रेरी जडान गर्दै जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म बझाङका १० वटा स्थानीय तहका शिक्षा शाखामा ई लाइब्रेरी जडान गरिसकेको र चैत ४ गते बुधबार भित्रै बाकी रहेका २ स्थानीयतह केदारस्युँ गाउँपालिका र बित्थडचिर गाउँपालिकामा जडान गरिने बताए ।

ई लाइब्रेरीमा अनलाइन र अफलाइनमा काम गर्न सकिने सिनियर मेनेजर कार्कीले बताएका छन् । उनको भनाइमा ई लाइब्रेरीमा कक्षा १ देखि ८ सम्मका डिजिटल शैक्षिक सामाग्री रहेका छन् । ८ हजार पुस्तक रहेको उक्त लाइब्रेरीमा १५ हजार अडियो र १२ हजार भिडियो सामाग्री सहित ब्रिटिस काउन्सिल लगाएतका अभ्यास सामाग्रीहरू राखिएका छन् । लोकसेवा कृषि शिक्षा स्वास्थ्य भाषा इतिहास भूगोल मानव अधिकार कम्प्युटर कोर्स धार्मिक ऐतिहासिक क्षेत्रका पुस्तक समेत रहेको उक्त लाइब्रेरीबाट गाउँपालिका कम्पाउण्डबाट निःशुल्क डाउनलोड गर्न सकिने समेत कार्कीले बताएका थियो ।
संस्थाले बझाङका ४३ वटा विद्यालयमा ९ सय ५० ल्यापटप पनि वितरण गरिसकेको छ ।
