जिल्ला अस्पताल डोटीबाट पिसिआर परिक्षण शुरु


डोटी,भदौं २
कोरोना सङ्क्रमण कोभिड १९ भए नभएको एकिन गर्नका लागि जिल्ला अस्पताल डोटीबाट पिसिआर परिक्षण सेवाको शुरुवात गरिएको छ । मँगलबार एक समारोहका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीमा स्थापना गरिएको पिसिआर प्रयोगशाला (मोलेकुलर ल्याव ) को उद्घाटन गरे सँगै पिसिआर परिक्षण सेवाको शुरुवात भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल डोटीमा पन्ध्र दिन अगाढी नै पिसिआर मेसिन पुर्याउने काम गरेको भए पनि प्रयोगाशाला ब्यवस्थापन लगायतका तयारी गर्नु परेका कारण हाल आएर सेवा शुरु गरिएको बताईएको छ ।
पिसिआर परिक्षण सेवा शुभारम्व कार्यक्रममा बोल्नुहुदै मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि परिक्षणको दायरा बढाउनुको बिकल्प नभएकोले पिसिआर मेसिन स्थापना गरिएको बताउनुभयो ।
मुख्यमन्त्री भट्टले भन्नुभयो,–‘सुदूरपश्चिम प्रदेशमा शुरुमा कोरोना भाइरस सङ्क्रमित देखिदा जुन प्रकारको त्रासको बातवरण थियो त्यो कम भइसककेको भए पनि रोकथामका लागि सबै क्षेत्रले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने देखिन्छ ।’
कार्यक्रममा जिल्ला समन्वय समिती डोटीका प्रमुख रामबहादुर ऐरले पिसिआर परिक्षण सेवाले डोटी जिल्ला मात्र नभएर छिमेकी जिल्ला अछाम र बाजुराका नागरिकहरुलाइ समेत सहज भएको बताउनुभयो ।
यस अघि महिनौ सम्म पिसिआर परिक्षण रिपोर्टका लागि कुर्ने परेको दुखः सम्झदै दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले जिल्ला अस्पतालमा नै पिसिआर परिक्षण सेवाको शुरुवात भएकोमा खुशि ब्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख मलासीले कोरोना सङ्क्रमण रोकथामका लागि सरकारी स्तरबाट भएका कामहरुमा सबैले सहयोग गर्न आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले खरिद प्रक्रिया लामो भएका कारण मेसिन खरिदमा ढिलाइ भएको भए पनि अव सेवा शुरुवात भईसके पछि यस क्षेत्रका जनतालाइ सहज हुने बताउनुभयो ।
जिल्ला अस्पताल डोटीमा पिसिआर परिक्षण सेवा शुरुवात भए सँगै यस क्षेत्रका अछाम र बाजुरा जिल्लालाइ पनि सहज भएको छ ।
