स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुदा घरमै सुत्केरी
नारद नेपाली
भदौ ६ डोटी
डोटीको पुर्वीचौकी गाउँपालिका –२ बगलेग गाउँकी गोल्मा भुललाइ शनिवार बिहानै सुत्केरी ब्यथा लाग्यो । सुत्ेकरी ब्यथा लागेकी गोल्मालाइ छिमेकी मिलेर नजिकैको स्वास्थ्य चौकीमा लगे । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुदा फर्काएर ल्याउदै गर्दा गोल्माले बाटोमै बच्चा जन्माउनु भयो । स्वास्थ्यकर्मी नहुदा घरमै बच्चा जन्माउने गोल्मा एक्ली हुनुहुन्न, बग्लेग स्वाथ्यचौकीमा सुत्ेकरी गराउने स्वास्थ्यकर्मी नहुदा पन्ध्र दिनको अवधीमा अन्य दुइ जना महिलाहरुले समेत घरमै बच्चा जन्माएका छन् ।
बाटोमै बच्चा जन्माए पनि रक्त स्राव नरोकीदा गोल्मालाइ बोकेर छिमेकीले चारघण्टा टाढा जिल्ला सदरमुकाम स्थीत जिल्ला अस्पताल डोटीमा पुर्याएका छन् । गोल्मा भुलकी सासु तिब्री भुलले भन्नुभयो, – ‘स्वास्थ्यचौकीमा अनमी नभए पछि घरमा ल्याउदै थियौं बाटोमै बच्चा जन्मियो, रगत बग्न कम भएको छैन, साल पनि अहिले सम्म आएको छैन बोकेर सिलगढी ल्याउदै छौं । ’
बगलेग स्वास्थ्य चौकीमा कार्यरत एक जना मात्र अनमीलाई तालिममा पठाए पछि स्थानीय महिलाहरुले सुत्केरी हुदा समस्या भोग्नु परेको हो । स्वास्थ्यचौंकीमा पाँच जनाको दरबन्दी भएपनि एक जना अहेव र एक जना अनमी कार्यरत रहेका छन् ।
सुत्ेकरी बोक्न स्टेचर समेत नपाएको दुखेसो पोख्दै स्थानीय करन नेपालीले भन्नुभयो, –‘त्यसै पनि गाउँ सम्म सहज यातायातको ब्यवस्था छैन, घर नजिकै स्वास्थ्य चौकी छ, सुत्केरी ब्यथा लाग्दा केही सहज होला भन्ने लागेको थियो, त्यो सुबिधा पनि पाउन सकेका छैनौं ।’ नेपाल सरकारले स्वास्थ्य चौकीमा अनिवार्य रुपमा सुत्केरी गराउँनु पर्ने ब्यबस्था गरेको भए पनि बग्लेगमा त्यो लागु हुन सकेको छैन ।
बग्लेग स्वास्थ्यचौंकीका इन्चार्ज रमेश चौधरीका अनुसार अनमीलाइ स्वास्थ्यचौकीमा कार्यरत अनमीलाइ पन्ध्रदिन अगाढी तालिममा पठाउदा सुत्केरी गराउँनमा समस्या आएको हो । इन्चार्ज चौधरीले भन्नुभयो, – ‘एक जना मात्र अनमी हुनुहुन्थ्यो उहाँलाइ तालिममा पठाईएको छ, मैले पनि कार्यालयको कामले बिभिन्न ठाउँमा गइरहनु परेका कारण पनि सेवाग्राहीहरुलाइ उपचारमा समस्या हुने गरेको छ ।’