
सुवास नेपाली
मङ्सिर २०, डोटी
भैरव प्रसाद गणका गणपति प्रमुख सेनानीद्वारा एन सी सी तालिमको निरीक्षण भ्रमण गरिएको छ । आ.व. २०८०/८१ को राष्ट्रिय सेवादल कार्यक्रम अनुसार डोटी जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नं. ७ सलेना स्थित श्री नवदिप विद्या निकेतन बोर्डिङ स्कुलमा मिति २०८० श्रावण ०१ गतेबाट सञ्चालन भइरहेको एन सी सी क्याडेट जुनियर डिभिजन तालिमको मंसिर १९ गते डोटी जिल्लाको सिलगढीमा तैनाथ नेपाली सेना श्री भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी श्री परीक्षित देउजाले निरीक्षण भ्रमण गर्नु भएको हो ।

निरीक्षण कार्यक्रममा उक्त गणका अधिकृत, एन सी सी क्याडेट तालिममा तालिमरत छात्र/छात्राहरूका अभिभावक, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक/शिक्षिका तथा विद्यार्थी लगायत अन्य सर्वसाधारण व्यक्ति गरी करिब-६० जनाको सहभागिता रहेको थियो । निरीक्षणको दौरान तालिमरत एन सी सी क्याडेटहरुले तालिमको समयमा सिकाइएका खालि हात ड्रिल, खुकुरी ड्रिल लगायत अन्य ड्रिलहरू प्रदर्शन गरेका थिए ।
तालिममा सहभागी क्याडेट छात्रछात्राहरूलाई माघ ०२ गते देखि २२ गतेसम्म श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर बाँकेमा वार्षिक सामूहिक क्याम्प सञ्चालनमा समेत सहभागी गराइने भनी श्री भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी श्री परीक्षित देउजाले जानकारी दिनु भयो ।
